काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको विवादको हल खोज्न तुरुन्तै स्थायी कमिटीको बैठक राख्न माग गरेका छन् ।
नेकपाको पाँचौं बैठक असार १८ गतेयता अवरूद्ध हुँदै आएको छ । साउन १३ गते बोलाइउको बैठकल पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकतर्फीरूपमा स्थगित गरेपछि बहुमत सदस्यहरूले बैठक बसेर प्रतिवाद गरेका थिए ।
त्यसपछि पार्टीभित्र झनै सङ्कट गहिरिएको छ । स्थायी कमिटी बैठक अनिश्चित बनिरहेका बेला प्रवक्ता श्रेष्ठले सुचारु गर्न माग गरेका हुन् ।
“म फेरि जोड दिएर भन्छु– हाम्रो पार्टीको आजको संकटको निकासको निम्ति जारी स्थायी कमिटीको बैठक तुरुन्त सुचारु गरौं,” उनले फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्, “सबै बैठकमा उपस्थित भएर आ–आफना विचार राखौं र छलफल गरौं । त्यसबीचमा आवश्यकता अनुसार शीर्षस्थ नेताहरूको बीचमा र सचिवालयमा गृहकार्य गरौं ।”
बैठकले पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र केन्द्रीय कमिटीको निर्णयअनुसार महाधिवेशनको तयारी गर्ने गरी निकास निकाल्न पनि उनले प्रस्ताव गरेका छन् ।
“यथास्थितिमा गुणात्मक परिवर्तन कुन रूपमा कसरी गर्ने भन्ने बारेमा अहंकार र पुर्वाग्रहबाट माथि उठेर छलफल गरौं र अतिवादबाट मुक्त हुँदै आजको आवश्यकतालाई सम्बोधन गर्ने गरी निष्कर्ष निकालौं,” उनले तर्क प्रस्तुत गरेका छन् ।
पार्टी भित्रको बहस र अन्तरसंघर्षलाई सत्यौन्मुख रूपान्तरणको साधन बनाउन पनि अपिल गरेका छन् । “व्यक्तिको हार र वितको विषय होइन, पार्टी, कम्युनिष्ट आन्दोलन, देश र जनतालाई विजयी बनाऔं,” उनले सुझाउँदै भनेका छन्, “व्यक्तिगत आरोप–प्रत्यारोप वा गालीगलौजका रूपमा होइन, वैचारिक,
सैद्धान्तिक, राजनीतिक र प्रवृत्तिगत विषयमा छलफल गरौं ।”
शुक्रबार मात्रै स्थायी कमिटी सदस्य तथा प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले प्रवक्ता श्रेष्ठलाई गुटबन्दीको आगोमा नेताहरूलाई झोसेको आरोप लगाएका थिए ।






