Home / World News / यस कारण रोकियो कोरोना विरुद्धको खोपको अन्तिम चरणको ट्रायल..

यस कारण रोकियो कोरोना विरुद्धको खोपको अन्तिम चरणको ट्रायल..

बीबीसी । कोरोना विरुद्धको खोपका लागि अन्तिम चरणको ट्रायलमा रहेको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेका कम्पनीको खोप परीक्षण, एकजना सहभागीले नकारात्मक प्रतिक्रिया देखाइ बिरामी परेपछि यतिबेला रोक्न लगाइएको छ । 

अज्ञात कारणवश् बिरामी परेका एक बेलायती सहभागीका कारण परीक्षण केही समयका लागि रोकिएको कम्पनीले जनाएको छ । एस्ट्राजेनेका–अक्सफोर्ड युनिभर्सिटी खोपलाई विश्वव्यापी विकसित भइरहेका खोप मध्ये सबैभन्दा बलियो उमेदवार मानिँदै आएको थियो । त्यसैले पहिलो र दोस्रो चरणको सफल परीक्षणपछि यो खोप छिटै बजारमा ल्याउन सकिने सबैको अपेक्षा थियो । 

अहिले भइरहेको अन्तिम चरणको ट्रायलमा अमेरिका, ब्राजिल, बेलायत र दक्षिण अफ्रिकाका ३० हजार मानिसहरु सहभागी छन् । तर अचानक देखा परेको यो समस्याका कारण अहिले सबै अन्तर्राष्ट्रिय ट्रायलहरु नजिकबाट निगरानी भइरहेको छ । यसको सुरक्षा सम्बन्धी डाटाबारे स्वतन्त्र अनुसन्धान गर्नुका साथै अब ट्रायल कहिले सुरु गर्ने भन्नेबारे पनि अध्ययनकर्ताहरुले छलफल गरिरहेको बीबीसीको मेडिकल फर्गन वाल्स रिर्पोटमा जनाइएको छ । 

घटना सम्बन्धी अक्सफोर्ड युनिभर्सिटीका प्रवक्ताले भनेका छन्, “यस किसिमको ठुलो ट्रायलमा केही सहभागीहरु बिरामी पर्ने जस्ता घटना हुने गर्दछन् । तर यसको स्वतन्त्र रुपमा र सावधानीपूर्वक अध्ययन अनि जाँच गर्नुपर्ने हुन्छ । ”

अक्सफोर्डको खोप यसरी बीचमा रोकिएको यो दोस्रो पटक हो । मुख्य ट्रायलहरुमा कतिपय सहभागी अस्पताल भर्ना हुनुपर्ने अवस्था आउन सक्छ तर बिरामी हुनुको कारण तत्काल पत्ता नलाग्दा पूरै ट्रायल केही समयका लागि रोक्नुपर्ने हुन्छ । 

यस सम्बन्धी खुलासा गर्ने पहिलो हेल्थ वेबसाइट, स्ट्याट न्युजले बिरामी भएका सहभागीले कस्तो प्रतिक्रिया देखाएको वा कुन अवस्थामा छन् भन्ने चाहिँ तत्काल स्पष्ट नभएको जनाएको छ तर श्रोतबाट पत्ता लागे अनुसार उनी छिटै ठीक हुने अपेक्षा गरिएको छ । त्यसैले ट्रायल केही दिनमै पुनः जारी हुन सक्ने बताइएको छ । 
 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *