Home / Nepal / News / मोरङ गोठगाउँको कोरोना उपचार केन्द्रबाट निको भएर ४० जना घर फर्किए (अपडेट)

मोरङ गोठगाउँको कोरोना उपचार केन्द्रबाट निको भएर ४० जना घर फर्किए (अपडेट)

विराटनगर । प्रदेश १ मा अस्पतालमा पुनः स्वाब परीक्षण गरेर मात्र कोरोना संक्रमितलाई अस्पतालबाट घर पठाउने नीति लिइएको छ । 

अन्यत्र निश्चित दिन पूरा गरेपछि कोरोना संक्रमितलाई पुनःपरीक्षणविनै घर पठाइने गरेको विषयमा टिकाटिप्पणी भइरहँदा बिहीबार मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज परिसरमा निर्माण गरिएको कोभिड उपचार केन्द्रबाट ४० जना डिस्चार्ज भएका छन् । तर, उनीहरू सबैको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ । 

परीक्षणमा कोरोना नेगेटिभ नतिजा आउनेलाई घर पठाइएको अस्पतालका डिन डा. शैलेशमणि पोखरेलले जानकारी दिएका छन् ।

पोखरेलले भने, “स्वाब संकलन गरेर बीपी कोइराला प्रतिष्ठान धरान पठाएका थियौं उताबाट रिजल्ट नेगेटिभ आएकाहरुलाई बिदा दिएका हौं ।” उनले यसरी घर पठाइने व्यक्तिले १४ दिनको होम क्वारेन्टाइन अवधि पूरा गर्नुपर्ने पनि बताएका छन् । 

प्रदेश १ सरकार र पूर्वाञ्चल विश्वविद्यालयको सम्झौताअनुसार गोठगाउँमा लक्षणविहीन कोरोना संक्रमितलाई उपचार केन्द्रमा राखेर उपचार हुँदै आएको छ ।

गोठगाउँस्थित उपचार केन्द्रबाट असार २ गते ५२ जनाको स्वाब संकलन गरेर बीपी प्रतिष्ठान पठाइएको डिन पोखरेलले जनाएका छन् । डिस्चार्ज हुनेहरू झापा, मोरङ, सुनसरी र भोजपुरका हुन् । 

गोठगाउँमा झापाका ४४, मोरङका २३, सुनसरीका ३७, भोजपुरका ५, उदयपुरका ४, ताप्लेजुङका एक, इलामका दुई, पाँचथरका एक र भारतका एक गरी जम्मा ११८ संक्रमित भर्ना गरिएको अस्पतालले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको उपचार पूर्वाञ्चल विश्वविद्यालय मोडिकल कलेज गोठगाउँ, कोसी अस्पताल विराटनगर र बीपी प्रतिष्ठान धरानमा गर्ने व्यवस्था मिलाइएको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *