काठमाडौं । थापाथलीस्थित नर्भिक अस्पतालले कोरोना समय शीर्षकमा बिरामीबाट थप १० प्रतिशत बढी शुल्क असुलेको पाइएको छ । कोरोना संक्रमणको जोखिम भएको भन्दै अस्पतालमा उपचाररत बिरामीबाट थप १० प्रतिशत शुल्क लिइएको पाइएको हो ।
नर्भिक अस्पतालका निर्देशक राजेन्द्रबहादुर सिंहले कोरोना संक्रमण जोखिम समयमा स्वास्थ्यकर्मी र बिरामी कसरी सुरक्षित हुने भन्ने विषयलाई नै मध्यनजर गरेर १० प्रतिशत शुल्क बढी लिइएको बताए । कोरोना संक्रमणबाट बच्न स्वास्थ्य सामग्रीमा लागेको लागत नै नभ्याउने भएपछि यो शुल्क बाध्य भएर नै थपेर लिएको उनले बताए ।
“पहिला सामान्य स्यानिटाइजर गर्दा पुग्थ्यो भने अहिले हरेक बिरामीलाई हेरेपच्छिे स्वास्थ्य सामग्री चेन्ज गर्नुपर्छ,” उनले भने,“प्रत्येक स्वास्थ्यकर्मीले कोरोनाबाट बच्न पीपीई सेट लगाउनुपर्छ । हरेक पीपीईमा स्यानिटाइजर गर्नुपर्छ । जसले गर्दा बिरामीलाई पनि सुरक्षित र स्वास्थ्यकर्मी तथा चिकित्सक पनि सुरक्षित हुन्छन् ।” उनले आफूहरुले यो शुल्क कोरोनाको समयमा मात्र लिने बताए । कोरोना संक्रमणको अवस्था सहज भएपछि हटाउने उनको भनाइ थियो ।
स्वास्थ्य तथा जनंख्या मन्त्रालयले कोरोना समय भनेर कुनै पनि उपचारमा बढी शुल्क लिन नहुने जनाएको छ । तर नर्भिक अस्पताल पुग्ने बिरामी कोरोना शीर्षकमै बढी शुल्क तिर्न बाध्य छन् । “सरकारले जिम्मा लिएर स्वास्थ्य सामग्री हामी सप्लाइ गर्छौं भन्यो भने बढी शुल्क लिदैनौँ,” उनले भने ।
काठमाडौंकै अर्को निजी अस्पताल ग्रान्डीले पनि केही शुल्क बढाएको स्वीकार गरेको छ । मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले केही शुल्क महंगो भएको बताए । तर मेडिसिटीले भने कोरोना शीर्षकमा आफूहरुले कुनै पनि अतिरिक्त शुल्क नलिइएको बताएको छ । अस्पतालका महाप्रबन्धक विजय रिमालले अतिरिक्त शुल्क नलिइएको बताए । स्टार अस्पतालका अध्यक्ष ईश्वर महर्जनले पनि आफूहरुले कोरोना शुल्क भनेर अन्य बिरामीको लागि अतिरिक्त शुल्क नलिइएको बताए ।






