सउल : दक्षिण कोरियामा पहिलोपटक मानिसबाहेक एक जनावर (बिरालो)मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। यहाँको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस सङ्क्रमण देखिएको हो।
पछिल्लो समय उक्त बस्तीमा कोरोना महामारी फैलिएको र त्यस ठाउँमा कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा बिरालोमा समेत सङ्क्रमण पाइएको हो। उक्त बिरालो पाल्ने परिवारका तीन सदस्यमा पनि भाइरस पुष्टि भएको छ।
कोरिया सरकारले कोभिड–१९ विरुद्ध खोपको तयारी गरिरहेको भए पनि अझै वितरण भएको छैन। यहाँ मानिसबाहेक अन्य जनावरमा समेत भाइरस देखा परेपछि सबैलाई सचेत रहन दक्षिण कोरिया सरकारले आग्रह गरेको छ। सावर्जनिक स्थानमा चार जनाभन्दा बढी भेला हुन नपाउने, सामाजिक दूरी पालना गर्नुपर्ने र ‘नो मास्क नो राइड’ नियमलाई कडाइ गरे पनि सङ्क्रमण फैलिन भने रोकिएको छैन।






