विराटनगर : विराटनगर महानगरपालिकाभित्र नीतिगत रूपमा विद्यालय खुला गर्न इजाजत दिइएको छैन । तर, निजी विद्यालयहरूले प्रशासन र महानगरको स्वीकृतिबिनै भौतिक रूपमा विद्यार्थी भेला गरी कक्षा सञ्चालन गर्न सुरु गरेका छन्।
विद्यार्थीलाई विद्यालयमै ल्याएर पढाउन थालिए पनि यसको अनुगमन भने हुन सकेको छैन । विद्यालयहरूमा कक्षा–५ भन्दा मुनिका विद्यार्थीलाई भौतिक दूरी कायम गराउन र स्वास्थ्यसम्बन्धी मापदण्डसमेत पालना गराउन कठिन हुने अवस्था छ। तर, कक्षाहरू मनलाग्दी रूपमा सञ्चालन गरिँदा बालबालिकामा कोरोना संक्रमणको उच्च जोखिम देखिएको छ।
विराटनगर महानगरपालिकामा तत्काल विद्यालय खुला नगर्ने महानगरले जनाएको छ । तर, विद्यालय सञ्चालक र केही लगानीकर्ताको हठको भरमा कक्षा सञ्चालन भइरहेका छन् । विद्यालय सञ्चालक र लगानीकर्ताको दबाबमा विद्यार्थीलाई पोसाक नलगाई कतिपय अभिभावकले विद्यालयसम्म पठाउन सुरु गरेका छन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले कसैलाई पनि कक्षा सञ्चालन गर्न इजाजत नदिइएको बताए । महानगर क्षेत्रमा विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा सञ्चालन गरिएको सूचना आफूसम्म पनि आएको बताए ।
उनले भने, “संक्रमणको जोखिम अझै कायमै छ । हामीले विद्यालय खुला गर्न भनेका छैनौँ । अब अनुगमन गर्छौँ ।” मोरङमा प्रशासनले जारी गरेको निषेधाज्ञा कायमै छ ।
प्रदेश राजधानी विराटनगर कोरोना संक्रमित अधिक रहेको क्षेत्रमा पर्छ । अहिले पनि दैनिक ५० भन्दा धेरै संक्रमित थपिने गरेका छन् । विराटनगरमा अहिले कोरोनाका दुई हजार ७१३ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म १३ हजार ५२३ जनामा संक्रमण देखिएको छ । संक्रमणका कारण महानगरका मात्र १७० जनाको ज्यान गएको छ । १० वर्ष र त्योभन्दा कम उमेरका बालबालिकामा हुने संक्रमण पनि बढ्दो छ ।
विद्यालय तत्काल सञ्चालन गर्न निजी क्षेत्रका सञ्चालक र लगानीकर्ताहरूले महानगरलाई निरन्तर दबाब दिँदै आएका छन् । उनीहरूले विद्यालय खोल्न महानगरको ध्यानाकर्षण गराए पनि संक्रमणको दर र प्रभाव भने नघटेको तथ्यांकले नै देखाएको छ ।
आजदेखि विद्यालय खुल्ने भन्ने प्रचार गरिए पनि त्यस सम्बन्धमा कुनै निर्णय नभएको महानगरपालिकाको शिक्षा महाशाखाले जनाएको छ । भौतिक रूपमा विद्यार्थी उपस्थित गराएर विद्यालय खोल्दा बालबालिकामा थप जोखिम बढ्ने देखिएकोले पनि विद्यालय खोल्न सक्ने अवस्था नरहेको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली बताउँछन् ।
उनले भने, “संक्रमित भई निको भएका र खोप लगाएका उमेर समूहमा कोरोनाविरुद्धको इम्युनिटी बनेको छ । तर, खोप लगाउने प्रोटोकल नभएका बालबालिकामा अब अधिक जोखिम छ भन्ने हाम्रो बुझाइ छ ।”
मेयर पराजुलीले बालबालिकाको सबालमा जोखिम उठाउन सक्ने अवस्था तत्कालै नरहेको र कक्षा–५ माथिका कक्षा सञ्चालन गर्ने विषयमा अध्ययन भइरहेको प्रस्ट पारे ।
महानगरले संक्रमणको अवस्था र विद्यालय खोल्न सकिने/नसकिने विषयमा अध्ययन गर्न समिति गठन गरेको छ । समितिले प्रतिवेदन बुझाएपछि त्यसबारे विस्तृत रूपमा अध्ययन, छलफल र परामर्श गरेर मात्र विद्यालय खोल्ने वा नखोल्ने तय हुने मेयर पराजुलीको कथन छ ।
समितिले प्रतिवेदनलाई अन्तिम रूप दिइसकेको भए पनि महानगरलाई बुझाएको छैन । समितिले तत्कालै भौतिक रूपमा विद्यार्थी उपस्थित गराएर अध्ययन/अध्यापन गर्ने अवस्था नरहेको, अहिले पनि ‘स्मार्ट लकडाउन’को अवस्था विद्यमान रहेकोले विद्यालयहरूले अनलाइनमार्फत नै पठनपाठन गर्नु उपयुक्त हुने, अनलाइनको पहुँचमा नभएका विद्यार्थीहरूलाई सीमित समयका लागि अत्यन्त न्यून संख्यामा विद्यालयमा उपस्थित गराएर एकदेखि दुई घण्टा अध्ययन सहजीकरण गरिदिन सक्नेजस्ता सुझाव दिने तयारी गरेको छ।
शिक्षा समितिको बैठक बसेर प्राप्त सुझावको अधारमा के गर्ने भन्ने निर्णयमा पुग्न सकिने महानगरले जनाएको छ ।






