Home / Nepal / News / सगरमाथा क्षेत्रमा बिना अनुमती चिनियाँ विमान प्रवेश, नेपाली अधिकारी भन्छन् : जानकारी छैन

सगरमाथा क्षेत्रमा बिना अनुमती चिनियाँ विमान प्रवेश, नेपाली अधिकारी भन्छन् : जानकारी छैन

काठमाडौं । सन्सारकै सर्वोच्च शिखर सगरमाथाको आकाशमा मंगलबार चिनियाँ विमान अनुमति बिना उडेको पाइएको छ । 

बी १०टिआरमा दर्ता भएको बिचक्राफ्ट बि ३०० सी कलसाइनको चिनियाँ विमान मंगलबार बिहान ३३,८०० फिटको उचाइमा उडेको थियो ।

उक्त विमानले नेपालको हवाई क्षेत्र मंगलबार बिहान १०:३० बजे छोडेको एसिया न्युज नेटवर्कले जनाएको छ । 

एसिया न्युज नेटवर्कका अनुसार उक्त विमानले सगरमाथाको उचाई मापनका लागि आएको क्यालिब्रेसन उडान गरेको हो । 

कुनै पनि विदेशी विमान अर्को मुलुकको अनुमतिबिना सो मुलुकको हवाई क्षेत्रमा प्रवेश गर्न पाउँदैन । 

यस विमानको उडानका लागि नेपालको अनुमति थियो भन्‍ने विषयमा बुझ्दा आधिकारिक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता राजकुमार क्षेत्रीले भने यस विषयमा आफूलाई जानकारी नभएको बताए । 

त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्रलाल कर्णले भने, “यो कुरा मेरो जानकारी छैन ।”

एयर ट्राफिक कन्ट्रोलर प्रमुख सीताराम भण्डारी सम्पर्कमा आउन चाहेनन् । 

यसअघि सगरमाथाको उचाई मापनका लागि २७ मार्च, २०२० मा चिनियाँ सर्भेयर टोली सगरमाथाको शिखरमा पुगेका थिए ।

त्यसैगरी सगरमाथको उचाई मापनकै लागि २२ मार्च, २०१९ मा नेपाली सर्भेयर टोली शिखरमा पुगेको थियो । 

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल र चीनले सगरमाथाको उचाई संयुक्त रुपमा घोषणा गर्ने बताएकी थिइन् । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *