काठमाडौं : नेकपा (मओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ। हिजो बसेको स्थायी कमिटी बैठकले आज केन्द्रीय कमिटी बोलाउने निर्णय गरेको हो।
नेकपा एमालेको केन्द्रीय कमिटीमा मनोनीत गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित २३ नेताहरूलाई आजको बैठकले कारबाही गर्ने स्रोतले बताएको छ।
हिजो बसेको स्थायी कमिटी बैठकले मन्त्रीसहित २३ नेताहरुलाई २४ घण्टाभित्र पार्टी छोडे/नछोडेको जानकारी गराउन निर्देशन दिएको थियो। उक्त समयसीमाभित्र जानकारी नगराउने नेताहरुलाई आजको बैठकले कारबाही गर्ने तयारी गरेको स्रोतको दाबी छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार माओवादी केन्द्रका बादलसहितका नेताहरुलाई एमालेको केन्द्रीय सदस्य मनोनीत गरेका थिए। उनले थापासँगै टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द थापा, प्रभु साह, टंक आङबुहाङ, पासाङ शेर्पा, ज्वाला साह, टेकबहादुर बलामी, कमल जंग, मनोज थापा, विषमलाल अधिकारी, लीलाबहादुर थापा, दधिराम न्यौपाने, दिनेश पन्थी, नवीन रोका, धर्मराज रेग्मी, डम्बर विष्ट, गौरीशंकर थारु, झपट बोहरा, दावा लामा र चन्द्रबहादुर खड्कालाई मनोनीत गरेका थिए। जसमध्ये बादल, थापा, भट्ट, थारु र लामा मन्त्री छन्।






