काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको लामो शक्तिसंघर्षपछि नेकपा टुक्रने निश्चित भएको छ।
आज ओली र प्रचण्ड दुवै पक्षले नेकपामा आफू वैधानिक भएको दाबीका लागि पत्र निर्वाचन आयोगमा पठाएपछि नेकपा बिधिवत रुपमा नै टुक्रीएको हो।
सोमबार अध्यक्ष ओलीलाई अनुशासनको कारबाहीको गरेको जानकारी सहितको पत्र प्रचण्ड पक्षीय नेकपाले निर्वाचन आयोगमा दर्ता गराएको थियो।
मंगलबार ओलीमाथि प्रचण्ड पक्षीय केन्द्रीय कमिटी बैठक बसेर पार्टी सदस्य समेत नरहने गरी कारबाहीको निर्णय गर्दैछ।
प्रचण्ड पक्षीय केन्द्रीय कमिटी बैठक बस्नुपूर्व ओली पक्षीय बैठक बालुवाटारमा बसी पार्टी केन्द्रीय कमिटी विस्तार गरी ४४७ बाट ११ सय ९९ पुर्याइएको छ।
आजै ५ सय ५६ जना थप गरिएको र बाँकी एक सय ९७ जना पछि थप्ने भनिएको छ। यो निर्णयको पत्र निर्वाचन आयोगमा अध्यक्ष ओलीको हस्ताक्षर सहित महासचिव विष्णु पौडेलले दर्ता गराएका हुन।






