Home / Politics / अयोध्याबारे दिएको अभिव्यक्ति फिर्ता लिन बामदेवको ओलिलाई आग्रह

अयोध्याबारे दिएको अभिव्यक्ति फिर्ता लिन बामदेवको ओलिलाई आग्रह

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीले अयोध्याबारे दिएको अभिव्यक्ति फिर्ता लिन आग्रह गर्नुभएको छ ।

उहाँले राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको मन्तव्यबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको बताउदै ओलीले उक्त अभिव्यक्ति फिर्ता लिँदै जनतासमक्ष आत्मालोचना गर्नुपर्ने बताउनुभएको हो ।

यस्तो छ गौतमको भनाई  जस्ताकाे तस्तै 


नेपालका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले असार २९ गते कुनै कार्यक्रममा राम जन्मभूमि नेपालको पर्सा जिल्लामा पर्छ भन्दै दिनुभएको मन्तव्यले नेपाल र भारतमा अत्यन्त तीखो प्रतिक्रिया उत्पन्न गरेको छ ।


आज भन्दा दुई वर्ष पहिले उहाँलाई भेट्न म बालुवाटार गएका बखत यो विषयबारे चर्चा गर्नुभएको थियो। मैले उहाँलाई यस सम्बन्धमा आफूले अध्ययन गरेका कतिपय सन्दर्भ सामग्री उल्लेख गर्दै विना अनुसन्धान, विना तथ्य प्रमाण यस्तो विषयलाई तपाईले कहीँ कतै व्यक्त नगर्न भन्दै सल्लाह पनि दिएको थिएँ ।

मलाई यस विषयमा उहाँले कहीँ न कहीँ सार्वजनिक गरिहाल्नु हुन्छ कि भन्ने शंका पनि लागेको थियो। नभन्दै हिजो तथ्य प्रमाण विना त्यसलाई सार्वजनिक गरेरै छोड्नु भयो।

केपी ओली अहिले मुलुकको प्रधानमन्त्री हुनुहुन्छ र सत्ताधारी पार्टीको अध्यक्ष पनि हुनुहुन्छ। अहिले उहाँ चाहँदा सबै पक्षबाट अनुसन्धान गर्न, तथ्यहरू जुटाउन, आएका अनुमानहरूको तथ्यसंगत विश्लेषण गर्न चाहिने साधनस्रोत जुटाउन सक्ने अवस्थामा हुनुहुन्छ ।

उहाँले उठाउनु भएको विषय सबै पक्षबाट तथ्य र तर्कसंगत सावित भएको अवस्थामा प्रधानमन्त्रीले हैन इतिहासकारहरूले सार्वजनिक गर्नु पर्दथ्यो ।


भगवान रामको जन्म जहाँ भए पनि यथार्थवादी कम्युनिष्टहरूका निम्ति केही फरक पर्दैन । रामका भक्तहरू नेपाल र भारतमा ठूलो संख्यामा रहेका छन् ।

यथार्थवादी भएका नाताले इतिहास प्रति हामी कम्युनिष्टहरूले अन्याय गर्न सक्दैनौं। नेपालको इतिहास निर्माणमा योगदान गर्ने महापुरुषहरूको नेपाल रहँदासम्म प्रशंसा गरिरहिने छ ।
संसारमा धेरै धर्महरू छन्, धेरै धार्मिक सम्प्रदायहरू छन् र तिनका अनुयायीहरू करोडौंको संख्यामा रहेका छन् ।

उनीहरूको धार्मिक आस्थामा चोट पु¥याउने क्रियाकलाप गर्न कसैले हुँदैन । त्यसैगरी कुनै पनि धार्मिक संरचनालाई प्रयोग गरेर नत राष्ट्रले न समुदायले न कुनै व्यक्तिले आफ्नो स्वार्थ पूरा गर्ने दुश्कर्म गर्न हुन्न । यस अर्थमा हामी कम्युनिष्टहरू धर्म निरपेक्ष हुन चाहन्छौं ।


राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको मन्तव्यबाट जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको छ त्यसको व्यापकतालाई ध्यानमा राख्दै उहाँले आफ्नो मन्तव्य फिर्ता लिँदै जनतासमक्ष आत्मालोचना गर्नु म उपयुक्त ठान्दछु ।

साथै प्राविधिक तथा इतिहासविद्हरूको टोली बनाई तत्सम्बन्धमा अनुसन्धान र तथ्य संकलनमा लाग्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई विनम्र अनुरोध पनि गर्दछु ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *