काठमाडौं : कोभिड १९ विरुद्धको एष्ट्राजेनेका खोपको दोस्रो डोजको पर्खाइमा नेपालमा २७ लाखभन्दा बढी नागरिक रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असोज १४ गतेसम्मको तथ्यांकअनुसार २७ लाख ३९ हजार ६१४ जनाले एष्ट्राजेनेका खोपको पहिलो डोज लगाएका छन्। एष्ट्राजेनेका खोप दुवै डोज लगाउनेको संख्या भने १५ लाख २९ हजार २३० रहेको छ।
४७ लाख १६ हजार ७७० जनाले भेरोसेल खोपको पहिलो डोज लगाएका छन् भने ३२ लाख ६३ हजार ८१८ जनाले दुवै डोज लगाएका छन्। असोज १४ गतेसम्म नेपालमा जम्मा ७४ लाख ५६ हजार ३८४ जनाले पहिलो डोज र ६२ लाख ८५ हजार ७४० जनाले पूर्ण खोप लगाएका छन्।
नेपालमा अहिले भेरोसेल खोप नियमित भए पनि एष्ट्राजेनेका खोप सबै प्रदेशमा दिइएको छैन । प्रदेश १, २ र वाग्मती प्रदेशमा एष्ट्राजेनेकाको पहिलो र दोस्रो दुवै डोज दिइँदैछ भने अन्य प्रदेशमा पहिलो डोज मात्र दिइँदैछ ।
पछिल्लो समय केन्द्रमा एष्ट्राजेनेका खोप सञ्चित नरहेको स्वास्थ्य सेवा विभागले जनाएको छ । नेपालले भारतको सिरम इन्स्टिच्युटबाट खरिद गरेको १० लाख डोज एष्ट्राजेनेकाको कोभिसिल्ड खोप ७ महिनामा पनि नआएपछि एष्ट्राजेनेकाको दोस्रो डोज खोपको पर्खाइमा रहनेको संख्या बढी भएको हो ।






