नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच दुई सातापछि भेटवार्ता भएको छ। प्रधानमन्त्री ओलीलाई भेट्न दाहाल शनिबार दिउँसो बालुवाटार पुगेका हुन।
दुई अध्यक्षबीच अहिले बालुवाटारमा भेटवार्ता चलिरहेको श्रोतले बताएको छ। नेकपाको कर्णाली प्रदेशमा देखिएको समस्या र मन्त्रिमण्डल पुनर्गठनको विषयले ओली र दाहालबीच तिक्तता उत्पन्न भए यता कात्तिक ४पछि उनीहरूबीच संवाद रोकिएको थियो।
लगातार प्रधानमन्त्री ओलिले दाहाललाइ फकाउन शंकर पोख्रेल सुबास नेम्वाङ बिष्णु पौडेल प्रदीप ज्ञवाली लगायतका नेताहरुलाइ दाहाल निवास खुमलटार पठाएका थिए।
ज्ञावालिले खुमलटार पुगेर संवादहीनता तोड्न आग्रह गरेका थिए। कर्णाली प्रदेशका मुख्यमन्त्री एवं दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै सांसदले संसदीय दलमा असोज अन्तिम साता अविश्वासको प्रस्ताव पेश गरेपछि नेकपाको केन्द्रीय नेतृत्वमा समेत यसको असर परेको छ।
त्यसलगत्तै प्रधानमन्त्री ओलीले दाहालसँग सल्लाह नगरेरै मन्त्रिपरिषद् हेरफेर गरेपछि दुई नेताबीच सम्बन्ध थप चिसिएको थियो।कर्णालीमा अविश्वासको नेतृत्व ओली समूहका यामलाल कँडेलले गरेका थिए।
कँडेललाई साथ दिएका माधवकुमार नेपाल समूहका सांसद पछि हटेपछि अविश्वासको प्रस्ताव संसदीय दलमा बहुमतले अस्वीकृत भइसकेको छ। विवाद समाधानका लागि अध्यक्षद्वयले कर्णालीका नेता काठमाडौं बोलाएर उनीहरूसँग छुट्टाछुट्टै छलफल पनि गरेका थिए।
कर्णालीको विवाद समाधानका लागि भनेर ओली-दाहालबीच पछिल्लोपटक ४ कात्तिमा छलफल भएको थियो। त्यसपछि ओली र दाहालले छुट्टाछुट्टै पत्र लेखेका थिए।
ओलीले मुख्यमन्त्री शाहीलाई पत्र लेखेर प्रमुख सचेतकबाट हटाइएका गुलाबजंग शाहलाई सोही जिम्मेवारी दिँदै विवाद समाधान गर्न भनेका थिए भने दाहालले प्रदेश इञ्चार्ज जनार्दन शर्मालाई पत्र पठाएर प्रदेशको समस्या प्रदेश तहबाटै समाधान गर्न अनुरोध गरेका थिए।






