Home / Society / मोरङमा बाँध फुटाएर बक्राहा र कन्काई गाउँतिर पस्यो, तीनवटा बस्ती डुबानमा

मोरङमा बाँध फुटाएर बक्राहा र कन्काई गाउँतिर पस्यो, तीनवटा बस्ती डुबानमा

विराटनगर । लगातारको वर्षापछि उर्लिएको मोरङको बक्राहा र झापाको कन्काई नदी बाँध भत्काएर बस्तीतिर पसेका छन् । 

बक्राहाले मोरङको सुनवर्षी नगरपालिकाको वरडगंमा १५ मिटर जति बाँध फुटाएर बाढी बस्तीतर्फ पसेको छ । त्यसबाट चार परिवार विस्थापित भएका छन् । डेढ सय घर डुबानको जोखिममा छन् । बाढीको बहाव कम भएसँगै बाँधलाई अस्थायी रूपमा बाँधेर खोलाको धार साबिककै स्थानमा फर्काउने प्रयास हुने बक्राहा नदी नियन्त्रण कार्यालयका प्रमुख ई. भिलानन्द यादवले जानकारी दिए । भने, “सोमबार दिउँसोबाटै बक्राहाले तटबन्धमा हान्न सुरु गरेको थियो । बाँसको पर्कुपाइन बाँध लगाएर तत्कालका लागि समस्या समाधान गर्ने हामीले योजना बनाएका छौं ।”

लगातारको वर्षापछि उर्लिएको कन्काई नदीले तीन सय मिटर बाँध भत्काएर झापा गाउँपालिकातर्फ पसेको छ । जनताको तटबन्ध भत्काएपछि पसेको बाढीले दुईवटा बस्ती डुबानमा परेका छन् । झापा गाउँपालिका १, मिलनबस्तीका ८३ घर र २ को सडकबारीका २२ घर डुबानमा परेको गउाँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिएका छन् । 

कन्काईको डुबानबाट सोमबार विस्थापित भएका १०५ परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो । बाढी पीडितलाई स्थानीय लक्ष्मी प्रावि र सेतुमारी प्राविमा राखिएको छ । “घरमा पसेको बाढी घटेका कारण केही परिवार आज बिहान फर्किएका छन्,” गाउँपालिका अध्यक्ष जयनारायण साहले भने, “कटानबारे जिल्ला प्रशासन र माथिल्लो निकायमा समेत जानकारी गराएका छौं ।” मिलनबस्तीका २१ परिवारलाई गाउँपालिकाले नै व्यवस्थापन गरेर राखेको उनले बताए । कन्काईको धारले चार दिनदेखि बाँध कटान गरिरहेको थियो । बाढीले धानखेतसमेत डुबाएको छ । 

बाढीका कारण सडकबारी, मिलन बस्ती, सालमारा, लसुनगन्जलगायत बस्तीका सयौं घरपरिवार डुबानमा पर्ने जोखिममा छन् । नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले कन्काईको कटान जोखिम रहेको बताए । “विगतको अनुभवले पनि हामीलाई त्यो क्षेत्रमा जोखिम अधिक भएको देखाएको छ । सर्वसाधारणमा सचेत रहन आवश्यक छ,” उनले भने । 

अविरल वर्षाका कारण झापा, मोरङ र सुनसरीका खोलामा बाढीको बहाव बढेको छ । सप्तकोसीमा पानीको सतह बढेपछि प्रहरीले माइकिङ गरेर सतर्क रहन स्थानीय बासिन्दामा आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *