दाङ : बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. १ गाभरमा एकाएक चारवटा पाटे बाघको बथानले मानिसहरुलाई घेरे ।
त्यसपछि रुखमा चढेर उनीहरुले ज्यान जोगाए । यो घटना शनिबार दिउँसोको भएको स्थानीय ५६ वर्षीय सेतु ओलीले जानकारी दिए । पछि आफूहरुलाई राष्ट्रिय निकुञ्जका दूईवटा हात्तीको सहयोगमा उद्धार गरिएको ओलीले जानकारी दिए ।
भैंसी र बाख्रा चराउन छोटीको दमार गएको समयमा एकाएक चारवटा बाघको बथानले २५ बर्षीया हिरा खड्का, २४ बर्षीया कालिका खड्का र ५६ बर्षीय सेतु ओलीलाई बाघले घेरा हालेपछि आफूहरु ज्यान जोगाउन रुखमा चढेको ओलीले बताए ।
घटनास्थल पूर्व पश्चिम राजमार्गदेखि करिब एक किलोमिटर दक्षिणमा रहेको ओलीले बताए।
“बाघले मलाई र बाख्रालाई झन्डै झम्टेन,” ओलीले भने “हामी सबैले चिच्याउँदै ज्यान जोगाउन रुखमा चढेका थियौं ।”त्यहाँ एकै साथ चारवटा मोटा घाटा गोरु भन्दा पनि ठूला बाघ आएर आफूहरुलाई घेरा हालेपछि सातोपुत्लो उडेको उनले बताए।
रुखमा चढेर आफूहरुले हार गुहार गरेपछि त्यो सुनेर नजिकै बाँके राष्ट्रिय निकुञ्जका दूई हात्ती चराउँदै गरेका माउतेहरु हात्तीसहित घटनास्थल आएपछि सहज भएको ओलीले जानकारी दिए।
गाभरमा हालसालै एकजना भारतीय नागरिकलाई राजमार्ग क्षेत्रबाट झम्टिएर बाघले खाएपछि निकुञ्जका दूई हात्ती बाघको निरीक्षण गर्न सहज होस भनेर गाभरमै ल्याएर राखिएको छ। ओलीले आफूहरुले झन्डै ८० वटा जति बाख्रा र ६ भैंसी चराउन लगेको जानकारी दिए।
हात्ती आएपछि बाघले भैंसीलाई लखेट्दै राप्ती नदी पारी पुर्याएको ओलीले बताए। पाँच भैंसी राप्ती नदीको भेल तरेर पल्लो किनार खर्चवा भन्ने ठाउँ पुगेको सूचना आए पनि एउटा पाडो भने फेला पर्न नसकेको हुँदा त्यसलाई बाघले खाएको आशंका भइरहेको उनले जानकारी दिए ।
राप्ती ठूलो भएको हुँदा आफूहरु आइतबार मात्रै भैंसी लिन खर्चवा पुग्ने ओलीले बताए। बाघ भैंसी लखेट्दै गएपछि आँफूहरु हात्तीको सहयोगमा दौडाएर बाख्रा जंगलबाट धपाउँदै घर तर्फ ल्याउन सफल भएको ओलीले बताए ।
त्यसअघि बाघले घेरा हाल्दा ज्यान जोगाउन रुखमा चढेका मध्य दूई महिलालाई एकै खेपमा सुरक्षित ठाउँमा सारेको उनले बताए ।
बाँके राष्टिय निकुञ्ज मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्काले बिगत एक डेढ महिना यता बाघको बथान गाभर क्षेत्रमा दिनमा चार–पाँच पटकसम्म राजमार्ग ओहोर दोहोर गर्ने गरेको जानकारी दिए । उनले आफूहरुको क्यामेरामा चारवटा बयस्क, एउटा बच्चा र अर्को एउटा बूढो बाघ साथसाथै हिँड्ने गरेको क्यामेराको रेकर्डमा देखाएको बताए ।






