Home / World News / कोरोनाबाट विश्वमा ८८ खर्ब डलर नोक्सान हुने एडीबीको प्रक्षेपण

कोरोनाबाट विश्वमा ८८ खर्ब डलर नोक्सान हुने एडीबीको प्रक्षेपण

काठमाडौँ । एसियाली विकास बैङ्क (एडीबी)ले कोरोना विषाणुका कारण व्यापक भएको कोभिड–१९ को असरले विश्व अर्थतन्त्रमा ८८ खर्ब डलरसम्मको नोक्सानी हुने प्रक्षेपण गरेको छ ।

यो प्रक्षेपण एडीबी आफैँले अघिल्लो महिना गरेको प्रक्षेपणको तुलनामा दुई गुणाभन्दा पनि बढी हो ।
कोभिड–१९ महामारीको अर्थतन्त्रमा पर्ने सम्भाव्य असरको अद्यावधिक नामक प्रतिवेदन एडीबीको मुख्यालय मनिलाबाट जारी गर्दै उक्त नयाँ प्रक्षेपण गरिएको हो ।

प्रतिवेदनमा न्यूनतम ५८ खर्बदेखि अधिकतम ८८ खर्ब डलरको नोक्सान हुने जनाइएको छ ।


अहिले गरिएको प्रक्षेपण कोभिड–१९ को आर्थिक असर तीन महिना र छ महिना रहने अनुमान गर्दै विश्वको समग्र आर्थिक उत्पादनको बढीमा ६.५ प्रतिशतबाट ९.७ प्रतिशतसम्म हो ।


प्रतिवेदनअनुसार एसिया तथा प्रशान्त क्षेत्रले तीन महिनाको अल्पकालीन अवस्था रहे १७ खर्बदेखि २५ खर्ब डलरसम्म र चीनले ११ खर्बदेखि १६ खर्ब डलरसम्मको क्षति बेहोर्ने छ ।


एडीबीका प्रमुख अर्थशास्त्री यासुयुकि सावाडाले यस प्रतिवेदनले विश्व अर्थतन्त्रमा महामारीले पार्ने असरको तस्बिर देखाएको बताउनुभएको छ ।

साथै यसले अर्थतन्त्रमा यसको प्रभाव कम गर्न आवश्यक नीतिको महत्व पनि दर्शाएको उहाँले बताउनुभएको छ ।


प्रतिवेदनमा आर्थिक असर कम गर्नका लागि सरकारहरूले ल्याउने सहायता उपयोगी हुने जनाएको छ ।

त्यससले ३० प्रतिशतदेखि ४० प्रतिशतसम्म असर कम गर्नसक्ने र त्यसको रकम ४१ खर्ब देखि ५४ खर्ब रहने अनुमान एडीबीको छ ।


अहिले विश्वभर आर्थिक सङ्कट सिर्जना हुने आशङ्कामा विश्वभरका केन्द्रीय बैङ्कले आक्रामक रूपमा ब्याजदर कटौती गरिरहेका छन् ।

साथै अत्यधिक राहतको प्याकेज ल्याउने क्रम पनि जारी छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *