Home / Nepal / News / तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली मादी सामूहिक हत्याको अनुसन्धान गर्न घटनास्थलमा

तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली मादी सामूहिक हत्याको अनुसन्धान गर्न घटनास्थलमा

विराटनगर : संखुवासभाको मादी नगरपालिकामा एकै परिवारका ६ जनाको सामूहिक हत्याबारे अनुसन्धान गर्न प्रहरी टोली घटनास्थलतर्फ लागेको छ।

संघीय प्रहरी इकाइ कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा विराटनगर र धरानबाट गएको प्रहरी टोलीले मादी पुगेर घटना विस्तृत अनुसन्धान गर्नेछ। प्रदेश प्रहरी कार्यालय र संघीय प्रहरी इकाइ कार्यालय धरानको टोली पुगेपछि शव उठाउने बताइएको छ। प्रहरीकाअनुसार सबै शव मङ्गलबार उठाएर पोस्टमार्टम गरिने छ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरबाट ‘रिजनल इन्भेस्टिकेसन’ टिमले पनि अनुसन्धान गर्ने प्रदेश १ डीआईजी अरूण बिसीले जानकारी दिए। घटनास्थल दुर्गम भेगमा भएकाले प्रहरीलाई पुग्न समय लागेको तर तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली गहन अनुसन्धान गर्ने बिसीले जानकारी दिए। अहिले घटनास्थलको सुरक्षामा प्रहरी निरीक्षक नेतृत्वको टोली खटिएको छ।

प्रदेश प्रहरी कार्यालयबाट अनुसन्धानका लागि ‘ट्र्याकर’ डग पिकु र लैलालाई लगिएको छ। कुकुरबाट अनुसन्धान गर्नुपर्ने भएकाले घटनास्थल आसपासको क्षेत्रमा स्थानीयलाई प्रवेश गर्न रोक लगाइएको प्रहरीले जनाएको छ।

सोमबार बिहान १० बजे मादी नगरपालिका १ उमलिङको खोला गाउँमा बौद्धमान कार्कीको परिवारका ६ जनाको शव फेला परेको थियो । ९३ वर्षीय वृद्ध सकुशल छन् । उनकी पत्नी ८४ वर्षीया पार्वती कार्की, छोरा ५२ वर्षीय तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाती ११ वर्षीय दिपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्की हत्या भएको अवस्थामा शव फेला परेको हो ।

पार्वतीको शव घरभित्र भेटिएको थियो । तेजबहादुरको शव घरदेखि करिब एक सय मिटर टाढा सडकको भित्तामा भेटिएको थियो । रञ्जना र कमलाको शव घर नजिकैको खोलामा भेटिएको थियो । दिपेन र गोमाको शव घरदेखि माथिको कासघारीमा भेटिएको स्थानीयको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *