काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा सामान्य सुधार भएको छ । टीएमएसमा समस्या देखिँदा १२ बजेदेखि अवरुद्ध बनेको सेयर बजार ३:१५ पछि पुन २ घण्टाको लागि सञ्चालनमा आएको थियो ।
प्रि ओपनिङ सेसनमा केही उकालो लागे पनि ११ बजे बजार खुलेसँग ओरालो लागेको बजार १२ बजेर ३ मिनेटमा कारोबार अवरुद्ध हुँदासम्म लगातार घटिरहेको थियो । ३ बजेर १५ मिनेटमा कारोबार सुचारु भएपछि भने उकालो लागेको बजार अन्तत: सामान्य सुधारसहित बन्द भएको छ ।
आइतबार बजार परिसूचक नेप्से ४.६४ अंकले वृद्धि भएर १४६२.६७ अंकमा बन्द भएको छ । बजारमा १८६ कम्पनीको ३६ लाख ८५ हजार ९६३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६१ करोड ४५ लाख ५४ हजार रुपैयाँको कारोबार भएको छ । नेप्से बढे पनि सेन्सिटिभ इन्डेकस भने घटेको छ । सेन्सिटिभ इन्डेक्स ०.८० अंकले घटेर २९६.२९ अंकमा बन्द भएको छ ।
लगातार उच्च कारोबार हुँदै आएको पुनर्बिमा कम्पनीको सेयरमा आइतबार पनि लगानीकर्ता झुम्मिएका छन् । आइतबार कम्पनीको सेयर ३४ करोड २२ लाख १० हजार रुपैयाँको किनबेच भएको छ । यस्तै एनआरएन एन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी, नेको इन्स्योरेन्स, शिवम् सिमेन्ट र शिखर इन्स्योरेन्स धेरै कारोबार हुने शीर्ष ५ कम्पनीमा अटाएका छन् ।
.png)
आइतबार नेप्सेमा कारोबार भएकामध्ये एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेर बन्द भएको छ । गत मंगलबार नेप्सेमा सूचीकृत भएर बुधबारबाट कारोबार खुलेको कम्पनीको सेयर मूल्यमा लगातार तेस्रो कारोबार दिनमा पनि पोजेटिभ सर्किट लागेको हो ।
यस्तै नेपाल पुनर्बिमा कम्पनीका लगानीकर्ताले ८.६० प्रतिशत, सिद्धार्थ इन्स्योरेनसका लगानीकर्ताले ८.१८ प्रतिशत, उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ७.६४ प्रतिशत र हिमालयन पावरका लगानीकर्ताले ७.६३ प्रतिशतले कमाएका छन् ।
आइतबार बजारमा बैंकिङ विकास बैंक र म्युचुअल फण्ड बाहेक सबै समूहको उपसूचक बढेको छ । बैंकिङ समूहको उपसूचक भने ०.६१ प्रतिशतले घटेको छ ।






