Home / Nepal / News / चितवनमा पनि कोरोना संक्रमणबाट २ जनाको मृत्यु

चितवनमा पनि कोरोना संक्रमणबाट २ जनाको मृत्यु

चितवन । चितवनमा आज (शुक्रबार) दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडाकी ७१ वर्षीया महिला र भरतपुर महानगरपालिका २, क्षेत्रपुरका ५१ वर्षीय पुरुष छन् । 

चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडा उपमहानगरपालिका १९ की ७१ वर्षीया महिलाको बिहान ६ बजेर ५० मिनेट जाँदा मृत्यु भएको हो । अस्पतालले आज एक विज्ञप्ति जारी यसबारे पुष्टि गरेको हो ।

अस्पतालका अनुसार निमोनियाँ र दमको बिरामी ती महिलालाई यही भदौ ७ गते बिहान साढे ९ बजेको समयमा श्वासप्रश्वासको समस्या भई जटिल अवस्थामा चितवन मेडिकल कलेज ल्याइएको थियो । सोही बेला कोरोना परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको थियो । 

अस्पतालको सघन उपचार कक्षमा उनको उपचार हुँदै आएको थियो । अस्पतालमा अहिले पनि ४२ संक्रमितको उपचार भइरहेकामा २० संक्रमितको आईसीयूमा उपचार भइरहेको छ । जसमध्ये तीनजनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

यसैगरी भरतपुर महानगरपालिका २, क्षेत्रपुरका ५१ वर्षीय पुरुषको पनि आजै मृत्यु भएको छ । उनको भरतपुरको श्री पुष्पाञ्‍जली अस्पतालमा उपचारका क्रममा आज बिहान १० बजे मृत्यु भएको हो । अस्पतालले प्रेस विज्ञप्ति जारी गरी उनको मृत्यु भएको पुष्टि गरेको छ ।

अस्पतालका अनुसार उनी भदौ ५ गते श्वासप्रश्वास समस्या भई अस्पतालमा भर्ना भएका थिए । सो क्रममा उनको स्वाब परीक्षणका लागि पठाइएकामा भदौ ८ गते उनमा कोरोना पोजेटिभ देखिएको थियो । 

ती बिरामी दम, निमोनियाँलगायत रोगबाट ग्रसित थिए । उनको गम्भीर अवस्थामा भेन्टिलेटरमा राखेर उपचार गराइराखिएको अस्पतालले जनाएको छ । योसँगै आज मात्रै चितवनमा दुईजनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *