– दीर्घराज प्रसाई
साउने सोमवारको दिन पशुपतिनाथ लगायत नेपाल, भारत, इण्डोनेसिया र विश्वका कैयौं शिव मन्दिर, महादेवस्थान, गोसाईकुण्ड, पिण्डेश्वर, डोलेश्वर महादेव लगायत अनेकौं शिवालयहरुमा दर्शनार्थी भक्तजनहरुको ठूलो उपस्थिति हुन्छ ।
विश्वका देशहरुमा अहिले अमेरिका तथा बेलायत जस्ता इसाई राष्ट्रहरुमा पनि शिवालयहरु स्थापना गरी नेपाल लगायत भारतीय हिन्दुहरुको प्रयासमा महादेवको पूजाआर्चना गरेर हिन्दुहरुले आ–आफ्नो पहिचान देखाउन लागेका छन् ।

यसरी शिवालय तथा भगवतीका मन्दिरहरु स्थापना गर्नमा नेपालीहरुको विशेष भूमिका रहेको छ ।
कैलाश मानसरोवर शिवजीको क्रीडा तथा तपस्थान र हिन्दु तथा बौद्धहरुको पवित्र तीर्थस्थल हो । हरेक हिन्दु तथा बौद्धहरु कैलास मानसरोवरमा बिना रोकतोक यात्रा गर्नमा स्वतन्त्र रहन्छन् ।

मानवकल्याणको लागि बिषलाई आफ्नो कण्ठमा राखी त्यसको डाहाबाट मुक्त हुन त्रिशुलबाट जल निकाली कुण्ड बनाई त्यही कुण्डमा विराजमान भएकाले गोसाईकुण्डको पनि ठूलो महीमाछ ।
अठार पुराणहरु सबैमा शिवको महीमा छ र शिव पुराण शिवजीको बयानको वृतान्त हो । हिमवतखण्डको पुस्तकमा– ‘मरिचि,पुलह,ऋतु,भृगु,अत्री आदि ऋषिहरुले पशुपतिनाथको पुूजा गरेर बसेको उल्लेख छ ।
नेपाल र भारतका शिव मन्दिरहरुमा सोमवारको दिन राताम्य महिलाहरु र विभिन्न भेषका पुरुष भक्तजनहरुबाट बोलवम भन्दै पबित्र, नदी, तालबाट घडाका घडा जल महादेवमा चढाउने काम गरिन्छ ।
विशेष गरेर साउने सोमबार महिलाहरुले आफ्ना पति, सन्तानको सम्मृदिको कामना गरेर उपबास(ब्रतमा लिहीन रहन्छन् । विश्वभरीका हिन्दुहरुका आराध्यदेव पशुपतिनाथको पूजाअर्चना गर्नु आस्तिकहरु आत्मागौरव मान्छन् भने नास्तिकहरु यसक्षेत्रलाई परम्परागत अस्तित्व ठान्छन् ।
पशुपतिनाथभित्र हिन्दुहरुलाई मात्र प्रवेश भन्ने मूल ढोकामा सूचना टाँसिएको छ । सूचना पढेर कतिले त्यसको बिरोधमा टिक्का टिप्पणी गर्ने गरेका छन् ।

भगवानको दर्शन गर्ने कुरामा कसैलाई रोकतोक हुनुहुन्न भन्ने कुरा राम्रो लागेता पनि नेपालका हिन्दु मन्दिरहरुमा कतिपय कुराहरु स्थापित मान्यता भइसकेका छन् ।
नेपालका हिन्दु देवस्थल पशुपतिनाथ लगायत अन्य धामहरुमा जुनसुकै धर्मावलम्वीहरु दर्शन वा अध्ययनको लागि जान सक्थे । हिन्दुधर्म संसारका धर्महरु मध्ये एक उदार र सहिष्णुवादी धर्म हो ।
इतिहासको कालखण्डमा हिन्दु देवस्थलहरु माथि मुस्लिम र इसाईहरुबाट आक्रमण हुन थालेपछि हिन्दु आराध्यदेव भगवानका मन्दिर र धामहरुमा हिन्दु बाहेक अन्य धर्मावलम्वीहरुलाई रोक लगाउने प्रारम्भ भएको हो ।
विक्रम सम्वत् १४०० तिर बंगालका नबाव सुल्तान समसुद्दिनले एकतीस हजार मुसलमान पल्टन लिएर नेपालका मन्दिर तथा विहारहरु ध्वस्त गर्दै जनकपुर, पनौती हुँदै पशुपतिनाथको मन्दिर समेत ध्वस्त पार्ने धृष्टता गरेका थिए ।
लिच्छविवंशका अन्तिम राजा जयर्जुनदेव कमजोर राजा भएकाले त्यही मौका छोपेर मुस्लिम आक्रमणले सारा हिन्दु तथा बौद्धहरुमा कोलाहल मच्चियो ।
त्यस्तो विकराल अवस्थाबाट यसक्षेत्रलाई बचाउन पाल्पा, कास्की,गोरखा, लमजुङ्गका राजाहरुको सहयोग लिएर खसराजा जयस्थिति मल्लले मुसलमान फौजमाथि आक्रमण गरे, तीसहजार चारसय मारिए र ६ सय जति बाँचेर भागे । (भक्तपुर तलेजु स्तम्भको शिलालेख)

त्यसपछि जयस्थिति मल्ल काठमाण्डौं उपत्यकाको राजसिंहसानमा बसेर पशुपतिक्षेत्रमा जीर्णोद्घार तथा पुनरुत्थान गरी बाग्मतीपारी राम मन्दिरको निर्माण गरे र नेपाल सम्वत् ४७० मा कुम्भेश्वर महादेवको स्थापना गरी कोटीहोम गर्दै शुद्धशान्ति गरेर पशुपतिनाथको मन्दिरभित्र हिन्दु इतर आक्रमणकारीहरुबाट बाँच्नको लागि हिन्दु तथा बौद्धलाई मात्र प्रवेश र अरुहरुको लागि प्रवेश निषेध गर्ने नियम चलाए ।
अहिलेसम्म त्यही परम्परा चल्दै आएको छ । संविधानहरु समयानुकुल परिवर्तन भइरहन्छन् तर परम्परागत स्थापित मान्यताहरु संविधान भन्दा माथि हुनेभएकाले परम्पराको रुपमा त्यसको समर्थन हुँदैआएको छ ।
यस्तो परम्परा अन्य धर्महरुमा पनि प्रसस्त छन् ।
हिमवतखण्डका स–साना टुक्रामा विभाजित हिन्दु राज्यहरुलाई गोर्खाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा एकीकृत भई हिमवतखण्ड–नेपाल सुरक्षित छ । ‘भारतखण्डे उत्तरायणे हिमवतखण्डे पूण्यभूमि–स्वर्णभूमि’–(वशिष्ट उपनिषद्) । यहाँका हिमाल, पहाड, तराईका हरक्षेत्र, पवित्र नदीहरु, ताल, धाम, जंगल, भूभागले सीचित छ ।
उता भारतखण्डमा एक हजार बर्षसम्म मुसलमान र अंग्रेजी साम्राज्यले हिन्दु र बौद्धका अस्मिताहरु तोडफोड गरेर बिटुलो बनाएर आफ्नो भाषा, धर्म र संस्कृति लाध्ने काम ग¥यो ।
एकमात्र पवित्रभूमिको रुपमा सुरक्षित हुँदैआएको सार्वभौम–नेपालको विश्वमा ठूलो प्रतिष्ठा छ ।
भारतमा चार धाम प्रसिद्ध छन् भने नेपालमा नेपालका पशुपतिनाथ, स्वयम्भूनाथ, मुक्तिनाथ, गोसाइकुण्ड, बाराहक्षेत्र, जनकपुरधाम, लुम्बनी, बौद्धनाथ, पाथिभरा जस्ता प्रसिद्ध थामहरु छन् ।

भारतमा अवस्थित तीरुपति, अमरनाथ, बद्रीनाथ, रामेश्वरम्, गया, कासी, विन्द्यावासिनी, कामाक्ष–कामरुप, आदि पवित्र स्थलहरुमा नेपाल र भारत बीचमा त्यत्तिकै तादात्म्यता छ । साउन महिना सबैको लागि शुभ बनोस् ।
पशुपतिनाथले सबैको कल्याण गरुन् ।






