काठमाडौं, १४ चैत । नेपाली कांग्रेसले दैनिक ज्यालादारीमा निर्भर रहेका नागरिकका लागि तत्काल राहत प्याकेज ल्याउन सरकारलाई आग्रह गरेको छ ।
सभापति शेरबहादुर देउवाले शुक्रबार विज्ञप्ती जारी गरी दिनभर काम गरेर साँझ खाने वर्गलाई लक डाउनले सबैभन्दा बढी असर पुर्याएकाले उनीहरुलाई सरकारले तोकेको न्युनतम ज्यालादरमा कम नहुने गरी राहत प्याकेज घोषणा गर्न आग्रह गरेका हुन् ।
कांग्रेसले २० लाखसम्म ऋण लिएका सना व्यवसायीलाई कम्तीमा ३ महिनाको ब्याज पुरै मिनाहा गर्न र त्यसपछिको निश्चित अवधिकालागि ब्याजदर घटाउन पनि माग गरेको छ ।
ठूला व्यवसायीको ऋणको ब्याजदर घटाउन र हालको किस्ता बुझाउने अवधि कम्तीमा ३ महिनापछि सार्ने प्रबन्ध मिलाउन सरकारसमक्ष अपिल गरेको छ ।
त्यस्तै न्युन आय भएका कर्मचारी, अन्य श्रमिक, बेरोजगार युवा तथा राजधानीलगायत शहरी क्षेत्रमा डेरा गरी बसेका विद्यार्थीलाई राहत पुग्ने गरी योजना र कार्यक्रम निर्माण गर्न पनि कांग्रेसले माग गरेको छ ।






