Home / Nepal / News / युवालाई ५ लाख कृषिऋण दिने प्रदेश १ को तयारी, ब्याज पनि सरकारले तिरिदिने

युवालाई ५ लाख कृषिऋण दिने प्रदेश १ को तयारी, ब्याज पनि सरकारले तिरिदिने

विराटनगर । प्रदेश १ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले सदनमा विनियोजन विधेयकमाथि मन्त्रालयको बजेट शीर्षकमा उठेका विषयमा जवाफ दिएका छन् । 

उनले प्रदेश सरकारले कृषि क्षेत्रका लागि छुट्याएको अनुदान सही व्यक्तिले नपाएको भन्ने प्रश्नको जवाफ दिँदै भने, “प्रदेश प्रमुख कृषि नवप्रवर्धन कार्यक्रमको १२ करोड समानुपातिक हिसाबले खर्च होस् भन्ने कुरा उठेका छ । सरकारले यसमा ध्यान दिनेछ ।”

उनले कोरोनाको बेला तालिम र गोष्ठी धेरै भएकी भनेर उठाएको सवालमा नवप्रवर्धन कृषि कार्यक्रममार्फत् विदेशबाट आउने र कृषिमा आबद्ध हुन चाहनेलाई छनोट गरी तालिम दिने बताए । 

मन्त्री मगरले रु. ५ लाख रुपैयाँ बैंकमार्फत् दिलाएर तीन वर्षसम्म सरकारले नै खर्च ब्याज अनुदानमा दिने सदनलाई जानकारी गराए । 

मन्त्री मगरले सीप विकास तालिम र अनुदानका लागि आफ्नै परिवार मिलेर सहकारी खोल्ने र फाइदा लिने गरिएको विषयमा सरकारले छानबिन गरी कैफियत हुन नदिने दाबी गरे । 

उनले कृषि मन्त्रालयले आउँदो दशकलाई ‘फलफूल दशक’ घोषणा गरेकाले केरा र सुन्तलाबाहेक धेरै फलफूल विदेशबाट आयात हुने क्रम रहेकाले त्यसलाई नियन्त्रण गर्न फलफूल दशक कार्यक्रममार्फत प्रदेशका सबै स्थानीय तहसँग मिलेर फलफूल नर्सरी स्थापना गर्ने बजेट राखिएको स्पष्ट गरे । उनले भने, “सहकारीसँगको सहकार्यमै फलफूल दशकअन्तर्गत काम हुनेछ ।”

उनले संघीय संरचना स्थापना भएपछि बीउ बैंकहरूको अवस्था भत्किएको पाइएकाले किसानलाई सम्भव भएसम्म निःशुल्क बीउ वितरण गर्ने बताए ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *