काठमाडौं । नेपाल-चीनबीच कुनै पनि सीमा समस्या उब्जिएमा संवादमार्फत समाधान गर्ने जनाएको छ ।
विभिन्न सञ्चारमाध्यममा चीनले नेपाली भूमि मिचेको भन्ने समाचार आएपछि परराष्ट्रमन्त्रालयले ध्यानाकर्षण भएको जनाउँदै सीमाजस्तो संवेदनशील विषयमा सूचना पुष्टि गरेर मात्र समाचार प्रकाशन-प्रसारण गर्न पनि आग्रह गरेको छ ।
मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, “कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको अस्तित्वमा नै नरहेको रिपोर्टलाई आधार बनाएर सार्वजनिक भएका समाचारमा सत्यता छैन । नेपाल-चीनबीचको सीमा सन् १९६१ अक्टोबर ५ को सीमा सन्धिअनुसार निर्धारित गरिएको छ । त्यसपछिको समझदारीपत्रमा दुवै मुलुकले हस्ताक्षर गरेका थिए ।”
समाचारहरूमा उल्लेख भएअनुसार हराइरहेका भनिएका चीनसँगको सीमाका स्तम्भ नम्बर ३७ र ३८ प्राकृतिक कठिनाइका कारण निर्माण नगरिएको मन्त्रालयले स्पष्ट पारेको छ ।
विभिन्न सञ्चारमाध्यमहरुमा समाचार प्रकाशन भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चीनले अतिक्रमण गरेको नेपाली भूमि फिर्ताको माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता गराएको छ ।







