Home / Nepal / एनआईसी एसिया लघुवित्तको आईपीओ असार १० गते खुल्दै

एनआईसी एसिया लघुवित्तको आईपीओ असार १० गते खुल्दै

काठमाडौं । एनआईसी एसिया लघुवित्तले असार १० देखि साधारण सेयर (आईपीओ) बिक्री खुला गर्ने भएको छ ।

लघुवित्तले ४७ करोड ५५ लाख रुपैयाँबराबरको ४७ लाख ५५ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । 

लघुवित्तले निष्कासन गर्न लागेको आईपीओमध्ये ०.५ प्रतिशत अर्थात् ७४ हजार कित्ता सेयर कर्मचारीका लागि छुट्याएको छ ।

यस्तै ५ प्रतिशत अर्थात् २ लाख ३७ हजार ८०० कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड गरेको छ । बाँकी रहेको ४४ लाख ४३ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गर्नेछ । 

१०० रुपैयाँ अंकित मूल्यमा निष्कासन हुन लागेको लघुवित्तको आईपीओमा असार १० देखि १४ गतेसम्म आवेदन दिन सकिने लघुवित्तले जनाएको छ ।

१४ गतेसम्म सबै सेयर बिक्री नभएमा असार २४ गतेसम्म आवेदन दिने समय रहने लघुवित्तले जनाएको छ ।

सर्वसाधारण लगानीकर्ताले लघुवित्तको सेयरमा कम्तीमा १० कित्ता र बढीमा २ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका तोकिएका शाखा कार्यलयबाट आवेदन गर्न सकिनेछ ।

साथै मेरो सेयर प्रयोगकर्ताले मेरो सेयरमार्फत पनि आवेदन गर्न सक्नेछन् ।

लघुवित्तले सेयर निष्कासनका लागि यसअघि नै बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ । लघुवित्तले निष्कासन गर्न लागेको आईपीओ लघुवित्त क्षेत्रको हालसम्मकै ठूलो हो । 

लघुवित्तले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ्स नेपालले ग्रेड ४ प्लस दिएको छ । जसले लघुवित्तको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको जनाउँछ । 

एनआईसी एसिया बैंकका सहायक कम्पनीका रूपमा जाजरकोटको खलङ्गामा केन्द्रीय कार्यालय स्थापना गरी २०७४ मंसिर १२ देखि सञ्चालनमा आएको थियो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लघुवित्तले १९ करोड १८ लाख खुद मुनाफा आर्जन गरेको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *