जनकपुर । प्रदेश २ मा पछिल्लो २४ घण्टामा १७४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो समेत यस प्रदेशमा संक्रमितको संख्या १ हजार ३२३ पुगेको छ । आइतबार ८३ जना नयाँ संक्रमित थपिएपछि १ हजार १४९ थियो ।
सोमबार सामाजिक विकास मन्त्रालयले पुष्टि गरेअनुसार नयाँ संक्रमितहरूमा सबैभन्दा बढी सर्लाहीमा १२० जना थपिएका छन् ।
सप्तरीमा १६ जना, महोत्तरीमा १२ जना, रौतहटमा ११ जना, पर्सामा ८ जना र बारामा ७ जना नयाँ संक्रमितको पुष्टि भएको हो ।
सोमबारको तथ्यांकअनुसार प्रदेश २ मा रौतहटपछि सबैभन्दा बढी संक्रमित भएको जिल्ला सर्लाही देखिएको छ ।
सर्लाहीमा कुल संक्रमितको संख्या ३७० पुगेको छ । तीमध्ये २८ जना उपचारपछि घर फर्केका छन् ।
प्रदेश २ मा सबैभन्दा बढी संक्रमित भएको जिल्ला रौतहट छ । रौतहटमा सोमबार थपिएको ११ समेत कुल संक्रमितको संख्या ४०८ पुगेको छ ।
रौतहटका २१ जना संक्रमित अहिलेसम्म उपचारपछि निको भएर घर फर्केको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सर्लाहीपछि धेरै संक्रमित भएको जिल्ला पर्सा हो । पर्सामा सोमबार थपिएको ८ जनासमेत कुल संक्रमितको संख्या ११९ पुगेको हो ।
तीमध्ये ९६ जना संक्रमित अस्पतालमा उपचारपछि निको भएर घर फर्केका हुन् । प्रदेश २ मा पहिलोपटक पर्सामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
त्यसको केही दिनसम्म लगातार संक्रमितको संख्या थपिँदै भयावह स्थिति बनेको पर्सामा पछिल्लो साता नयाँ संक्रमित देखिएको थिएन ।
यो साता सोमबार पहिलोपटक ८ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।
प्रदेश २ मा जम्मा ४३१ वटा क्वारेन्टिन सञ्चालनमा रहेकोमा २१ हजार ४५० जना क्वारेन्टिन बासमा छन् । ६९० जना आइसोलेसनमा बसेर उपचार गराइरहेका छन् ।
सामाजिक विकास मन्त्रालयको अनुसार ३१ हजार ७२० जना बस्न सक्ने क्षमताको क्वारेन्टिन र १ हजार ३५८ बेडको आइसोलेसन तयारी अवस्थामा राखिएको छ ।
प्रदेश २ मा अहिलेसम्म १ हजार ३२३ जना संक्रमित देखिएकोमा जम्मा २०३ जना उपचारपछि निको भएर घर फर्केको मन्त्रालयले जनाएको हो ।
यस प्रदेशमा अहिलेसम्म २२ हजार ६६८ जनाको स्वाब संकलन गरिएकोमा १० हजार ३९७ जनाको रिपोर्ट आउन बाँकी छ ।






