हिमाल र उच्च पहाडी क्षेत्रमा फल्ने स्याउ तराईमा पनि फलेको छ । हिमाल र उच्च पहाडी क्षेत्रमा फल्ने चिलिङ्ग जातको स्याउ तिलोत्तमामा रहेको लुम्बिनी नर्सरीले तराईमै फलाएको हो ।
यसको बोट भारतको कलकत्ताबाट ल्याइएको थियो । दुई वर्षअघि सो जातको स्याउको बिरुवा नर्सरीका सञ्चालक रमेश पाण्डेले लगाएका थिए ।
जंगली प्रजातिको मिलिङ्ग जातको स्याउको बोटमा लो चिलिङ्ग जातको बोटको कलमीबाट यो स्याउको बोट तयार गरिएको छ ।

चिसो नभएको स्थानमा समेत यो जातको स्याउ फलेको लुम्बिनी नर्सरीका सञ्चालक रमेश पाण्डेले बताए । ४ वर्ष अघि उनले तिलोत्तमा रहेको लुम्बिनी नर्सरीमा स्याउको बिरुवा लगाएर स्याउको परीक्षण गरिरहेका थिए ।
विरुवा लगाएको पहिलो वर्षमै ४ वटा फल लागेको थियो । त्यस्तै दोस्रो वर्षमा १ सय स्याउँ फलेकोमा यस वर्ष एउटै बोटमा ३ सय देखि ४ सय सम्म स्याउ फलेको छ ।
विरुवा लगाएको ३ वर्षमा लटरम्म स्याउँ फलेपछि तराईमा पनि स्याउ फलाउन सकिने सफल परीक्षण भएको नर्सरी सञ्चालक पाण्डेले बताए ।
लुम्बिनी नर्सरीमा उनले ४ वर्षअघि भारतबाट विरुवा लिई मिलिङ भन्ने जंगली स्याउको बोटमा लो चिलिङ जातको बोटको कलमीबाट स्याउको बोट तयार गरेका थिए ।
८ सय देखि २ हजार मीटर उचाईसम्ममा यो लो चिलिङ जातको स्याउ व्यवसायिक रुपमा नै उत्पादन गर्न सकिने उनले बताए । यो जातको स्याउ भने हिमाली क्षेत्रमा फल्दैन ।
चिसो नभएको स्थानमा फल्ने भएकाले तराई र मध्य पहाडी क्षेत्रमा यसको व्यवसायिक उत्पादन गर्न सकिने ३ वर्षको परीक्षणले पुष्टि गरेको उनले बताए ।
उनले बिरुवाहरु निकाल्न समेत आफू सफल भइसकेको बताउँदै परीक्षणको रुपमा ५० वटा विरुवा तयार गरी विभिन्न जिल्लाका कृषकहरुलाई दिइएको उनले जानकारी दिए ।
गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी लगायतका जिल्लामा लगेका विरुवाहरुमा पनि स्याउ राम्रो फलेको उनले सुनाए । उनले सुरुवातमा ५० वटा विरुवाको ग्रासिङ गरी लो मिलिङ जात तयार गरेर थिए ।
हिमालमा स्याउ तयार नहुँदै तराई र पहाडमा यो जातको स्याउ उत्पादन गर्न सके बजार समेत राम्रो हुने उनको भनाई छ । यो जातको स्याउ मंसिर र पुसमा लगाउन उपयुक्त मानिन्छ ।
स्याउको परीक्षण काल भएकाले स्याउको विरुवामा कुनै पनि प्रकारको भिटामिन, किटनाशक औषधि नराखेको उनले बताए । फलेको स्याउू ठूलो र गुलियो समेत रहेको छ ।
कृषि विज्ञहरू भने तराईमा फल्ने स्याउको स्वाद नहुने दाबी गरेपनि लुम्बिनी नर्सरीमा फलेको स्याउमा भने गुलियो स्वाद रहेको छ ।






