काठमाडौं- गृह मन्त्रालयले रुकुम पश्चिम चौरजहारी–८ मा जेठ १० गते भएको घटनाको छानविन गर्न सह–सचिवको नेतृत्वमा ५ सदस्यीय छानिबिन समिति गठन गरेको छ ।
राष्ट्रियसभामा गृहमन्त्री रामबहादुर थापाले रायसहितको प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको बताएका हुन ।
गृहमन्त्री थापाले पश्चिम रुकुमको चौरजाहरीको घटना राष्ट्रियसभामा जानकारी गराउँदै दलित युवाको हत्या जातीय अहंकारवादको उपज रहेको बताए ।
मन्त्री थापाले सो घटना जातीय अहंकारवादका कारण भएको बताउँदै दोषीलाई कारवाही गर्न सरकार प्रतिवद्ध रहेको जानकारी दिए ।
सुरक्षा संयन्त्रबाट प्राप्त प्रारम्भिक जानकारी अनुसार १९ जना युवाहरु युवतीलाई ‘भगाउन’ गएको भन्ने खुलेको उनले बताए । त्यसमध्ये एकजना भने बिच बाटोबाटै फर्किएको उनले राष्ट्रियसभालाई जानकारी गराए ।
मन्त्री थापाले भने, ‘घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको छ । पश्चिम रुकुमको जिल्ला समन्वय समितिका अध्यक्षको नेतृत्वमा छानबिन समिति बनाएको भन्ने सुन्नमा आएको छ । त्यो समितिको कुनै औचित्य छैन । सरकारले घटना छानबिनका लागि समिति बनाएको छ ।’
जिल्लामा बनाइएको समिति घटना ढाकछोप गर्नका लागि समेत बनाइएको हुन सक्ने भएकाले त्यसको कुनै औचित्य नहुने र सरकार कुनै पनि हालतमा दोषीलाई कारवाही गर्न प्रतिवद्ध रहेको उनले बताए ।
राष्ट्रयसभाको मंगलबारको बैठकमा सांसदले समय मागेर बोल्दै घटनाबारे चासो व्यक्त गरेका थिए । उनीहरुले दोषीमाथि कारवाही गर्न माग गरेका छन् ।







One Comment