न्यूयोर्क । अमेरिकाको एक अदालतले पुरुष खेलाडीसरह समान तलव पाउनुपर्ने दाबीसहित दायर भएको मुद्दा खारेज गरिदिएको छ । योसँगै समान तलवका लागि अमेरिकी महिला फुटबलरले गरेको पहिलो प्रयास असफल भएको छ ।
पुरुष खेलाडीको तुलनामा कम पारिश्रमिक पाएको भन्ने महिला टिमका खेलाडीको दाबी न्यायाधीशले अस्वीकार गर्दै मुद्दा खारेज गरेका हुन् । गत वर्ष महिला टिमका २८ खेलाडीले अमेरिकी सकर फेडेरेसन (युएसएसएफ) विरुद्ध उजुरी गरेका थिए ।
सो मुद्दामा समान पारिश्रमिक दिनु पर्ने कानून अन्तर्गत आफूहरुले ६६ मिलियन डलर क्षतिपूर्ति पाउनु पर्ने उनीहरुको माग थियो ।
खेलाडीहरुकी प्रवक्ता मोली लेविन्सनले अदालतको फैसलाविरुद्ध अपिल गर्ने बताएकी छन् । उनले भनेकी छन्, ‘हामी आश्चर्यमा परेका छौं र निराश पनि । तर समान पारिश्रमिकका लागि गरेको कडा मेहनत यसै खेरजान दिने छैनौं ।’
अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले समान पारिश्रमिकका लागि गरिरहेको संघर्ष बिचमै नछाड्न आग्रह गरेका छन् ।
समान पारिश्रमिकको मुद्दा खारेज गरेपनि संघीय अदालतका न्यायाधीस ग्यारी क्लाउस्नरले यात्राको क्रममा महिला खेलाडीहरुमाथि विभेद भएको स्वीकार गरेका छन् । सो मुद्दाको सुनुवाई लस एन्जलसमा आउँदो १६ जुनमा हुनेछ ।
गत वर्षको महिला विश्वकप फुटबलमा गोल्डेन बुट र गोल्डेन बल जितेकी अमेरिकी टिमकी स्ट्राइकर मेगन रापिनोइले समान पारिश्रमिकका लागि गर्दै आएको युद्ध कुनै पनि हालतमा नछोड्ने प्रतिबद्धता जनाएकी छन् ।
अदालतको फैसलाले केही निराश भएपनि आफूहरुले यो संघर्ष नछाड्ने अर्की स्ट्राइकर एलेक्स मोर्गनको भनाई छ ।






