Home / Nepal / लकडाउनका कारण बन्द शेयर बजार खुलाउन लगानीकर्ताहरूको माग

लकडाउनका कारण बन्द शेयर बजार खुलाउन लगानीकर्ताहरूको माग

काठमाडौं । कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि सरकारले जारी गरेको लकडाउनका कारण बन्द शेयर बजार खुलाउन लगानीकर्ताहरूले माग गरेका छन् ।

लामो समयदेखि बजार बन्द हुँदा समग्र अर्थतन्त्रमा नै नकारात्मक असर पर्ने भन्दै उनीहरूले बजार खुलाउन माग गरेका हुन् ।

सरकारले चैत ९ गतेदेखि लकडाउन जारी गरे पनि शेयर बजार चैत १० गते पनि कारोबार भएको थियो ।

यद्यपि लगानीकर्ताहरूकै दबाबमा अर्र्को दिनदेखि शेयर बजार बन्द रहेको छ ।

मंगलबार नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष अम्बिकाप्रसाद पौडेलले एक महिनाभन्दा बढी बजार बन्द हुनु राम्रो नभएको भन्दै खुलाउनुपर्नेमा जोड दिनुभयो ।

यतिधेरै लामो समय लकडाउन लम्बिएला भन्ने शुरुमा नबुझेको कारण बजार बन्द माग गर्न आग्रह भएको भए पनि लामो समय भएकाले अब खुलाउनुपर्ने उहाँले बताउनुभयो ।

केही सहजता बनाएर बजार नखुलाए लगानीकर्ताको विश्वास घट्ने उहाँको भनाइ छ ।

समय र सर्किट ब्रेकका सन्दर्भमा केही विचार गरेर भए पनि बजार खुलाउनुपर्ने भन्दै हाल दिनमा १० प्रतिशतभन्दा तलमाथि जाने व्यवस्थालाई ५ प्रतिशतको सीमा तोकेर बजार खुलाउनुपर्ने पौडेलको प्रस्ताव छ ।

यसैगरी नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले पनि बजार खुलाउनुपर्ने बताउनुभयो ।

तर, सबै ब्रोकर कार्यालयलाई पास उपलब्ध गराएर सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो ।

समय घटाएर र सर्किट ब्रेकको सीमा कम गरेर सबै ब्रोकर कार्यालयमार्फत सेवा दिने गरी बजार खुलाउनुपर्ने उहाँको भनाइ छ ।

शेयर बजारका विज्ञ डा. गोपाल भट्टले लगानीकर्ताले भनेकै भरमा बजार बन्द गर्नु नै गलत भएको बताउनुभयो ।

बजार बन्द गराएर पहिले नै गल्ती भइसकेको भन्दै उहाँले अब भने चाँडोभन्दा चाँडो बजार खुलाउनुपर्ने बताउनुभयो ।

नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बन्द रहेको शेयर बजार वैशाख २६ गतेदेखि खुलाउने विषयमा छलफल भइरहेकोबताउनुभयो ।


सरोकारवालाहरूले बजार खुलाउन गरेको आग्रहपछि नेप्सेका सीईओ साउदले २५ गतेसम्म लकडाउन रहेको र २६ गतेदेखि खेल्ने सम्भावना रहेको बताउनुभयो ।

‘सबैसँग सरसल्लाह गरेर नै बजार बन्द गरिएको हो, लकडाउन लम्बिदै जाँदा बजार पनि बन्द नै रह्यो’, उहाँले भन्नुभयो–‘अब वैशाख २५ गते लकडाउन सकिँदैछ, वैशाख २६ गतेदेखि बजार खुल्ला हुनसक्छ ।’

उहाँले बजार के कसरी खुलाउने भन्ने विषयमा पनि छलफल भइरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *