काठमाडौं : काठमाडौं महानगरमा आजबाट बजारका चौपाया खसी, बोका, भेडा, च्याङ्ग्राको परीक्षण सुरु भएको छ ।
काठमाडौं महानगरपालिकाले संघ सरकारको पशु सेवा विभाग र वाग्मती प्रदेशको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग सहकार्य गरेर परीक्षण र अनुगमन थालेको हो ।
महानगरभित्रका दसैँ लक्षित चौपाया बजारहरू कलंकी, खाद्य संस्थान थापाथली परिसर, टुकुचा खसी बजार र बालाजु वाइपास क्षेत्र हुन् । महानगरका पशु विकास अधिकृत डम्मरबहादुर बमकाअनुसार यी बजारमा विहान ७ बजेदेखि १२ बजेसम्म एउटा टोली र १२ बजेदेखि ५ बजेसम्म अर्को टोली गरेर २ वटा टोली नियमित परिचालन हुनेछन् ।
काठमाडौं महानगरसँगै ललितपुरको लगनखेल (मच्छिन्द्र मा.वि. पछाडि), भक्तपुरको लोकन्थली, सल्लाघारी, चाल्नाखेलको राँगा बजार, चन्द्रागिरीे (थानकोट) दाउरा डिपोका चौपाया बजारमा परीक्षण हुँदैछ।
महानगरको पशु सेवा महाशाखाका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. अवधेश झाकाअनुसार, पहिले खसी, बोका, भेडा, च्याङ्ग्राको स्वास्थ्य जाँच गरिन्छ । ‘‘मासु खान योग्य खसी/बोकाको सिङमा हरियो रङ्ग लगाइन्छ । विरामी भएर खान अयोग्य भेटियो भने रातो रङ्ग लगाइन्छ । आवश्यकताका आधारमा यसरी विरामी भेटिएका चौपायाको नमुना संकलन गरेर परीक्षण पनि हुनेछ,” उनले भने।
बजारमा टोलीले चौपायाको स्वास्थ्य परीक्षणसँगै व्यापारी र उपभोक्तलाई स्वच्छ र स्वस्थ्य मासुजन्य खाद्यवस्तुको उत्पादन र कोभिड–१९ को सम्भावित संक्रमणबाट जोगिन सचेतना बढाउने काम गरिरहेको छ । परीक्षणका क्रममा रोगी पशुपन्छीको ओसार पसार, नगर्न, महानगरले तोकेको ठाउँमा मात्र चौपायाको बिक्री वितरण गर्न, स्वस्थ्यताको चिनो (हरियो रङ) भएका चौपायामात्र खरिद विक्री गर्न, मासुलाई चिसोमा राख्न, राम्ररी पकाएर मात्र मासु खान आग्रह गर्ने गर्ने गरेको छ।
परीक्षणको पहिलोदिन कलंकी खसी बजारमा विभागका महानिर्देशक डा. दमयन्ती श्रेष्ठ, विज्ञ केन्द्रका वरिष्ठ पशु चिकित्सक डा. गौरीमान श्रेष्ठ, महानगरको वडा १४ की अध्यक्ष शोभा सापकोटाले निरोगी खसीको सिङ्मा हरियो रङ् लगाएर परीक्षण र अनुगमन थालेका थिए ।





