Home / Nepal / राति चालकलाई कुटेर गाडी लिएर भागेका दुइजना बिहान दुर्घटनामा परे

राति चालकलाई कुटेर गाडी लिएर भागेका दुइजना बिहान दुर्घटनामा परे

जनकपुरधाम : काठमाडौंबाट जनकपुरधाम आउन शनिबार दुई युवक गाडी भाडामा लिन बल्खु पुगेका थिए। सवारी चालक रोशन खरेलसँग सेवाग्राही मारुदिन मियाँ र नबिब आलमले १२ हजार रुपैयाँमा जनकपुर आउने सहमति गरे। बेलुका जनकपुरधामको लागि उनीहरूको यात्रा सुरु भयो।

त्यसक्रममा बाटोमा एक अर्काले अनेकन किस्सा सुनाए। चिया, खाजा र बेलाबेला गुट्खा पनि तीनैजनाले बाँडीचुडी खायो। तर, यसले धेरैबेरसम्म निरन्तरता पाएन। बाँकेको जङ्गलमा पुगेपछि सेवाग्राहीद्वय मारुदिन र नबिबले चालक खरेलमाथि एक्कासी आक्रमण गरे। उनीहरूले चालकमाथि हातमुक्कासहित गाडीमै राखिएको रड्ले प्रहार गरे । चालक बेहोस भए। उनीहरूले चालक खरेललाई गाडीबाट जंङ्गलमा फालिदिए। अनि आफूहरू चाहिँ सोही गाडी लिएर जनकपुरतर्फ आए।

तर, तीव्र गतिका कारण उनीहरू चढेको गाडी क्षीरेश्वरनाथ नगरपालिका हरिहरपुरमा दुर्घटना भयो। खासै चोटपटक लागेन । उनीहरू गाडीलाई त्यही छाडेर अटोरिक्सा चढेर धनुषाधामतर्फ लागे। त्यतिबेलासम्म चालक खरेलले प्रहरीलाई खबर गरिसकेका थिए।

“म गाडी चलाउँदै गर्दा कुटपिट गर्न थाले। जथाभाबी कुट्न थालेपछि मैले बेहोस भएको नाटक गरेँ,” उनले भने, “म बेहोस भएको बाहना गर्दा पनि कुटे । तर, कुट्नुभन्दा पनि उनीहरू भाग्न खोज्दै थिए। मैले भाग्न दिएँ।”

यात्राका क्रममा उनीहरूसँग कुनै विवाद नभएको उनको भनाइ छ। “उनीहरूले मसँग विभिन्न प्रकारका कुरा गरिरेका थिए। उनीहरूका कुरा सुनेपछि अपराधिक गतिविधिको मान्छे हो जस्तो त लागेकै थियो। तर, आधुनिक युगका केटाहरू हो भनेर मैले त्यति मतलब गरिनँ,” उनले भने। आज (आइतबार) मध्याह्न १२ बजे प्रहरीले भाग्ने क्रममा धनुषाधामबाट उनीहरूलाई पक्राउ गरेको छ।

पक्राउ परेका सेवाग्राहीद्वय मामा भान्जा हुन्। उनीहरू सुनसरी जिल्लाको भोक्राहा ५ बस्ने २७ वर्षीय मुरुदिन मियाँ र नबिब आलम रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैजनालाई प्रहरी हिरासत राखी थप अनुसन्धान अगाडी बढाइएको छ।

जिल्ला अदालत धनुषाबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइने प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए। उनले यस प्रकारको गतिविधि धेरै नभएपनि फरकफकर शैलीमा लुटपाट भइरहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *