मकवानपुर : मकवानपुरबाट अपहरणमा परेका दुई युवकलाई प्रहरीले भारतबाट उद्धार गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले भारतीय प्रहरीको सहयोगमा अपहरणको तीन दिनपछि उद्धार गरेर उनीहरूलाई नेपाल ल्याएको जनाएको छ। उद्धार गरिनेमा हेटौडा उपमहानगरपालिका–९ स्वागत टोलका २३ वर्षीय गोविन्द श्रेष्ठ र २२ वर्षीय पवन राना मगर रहेका छन् । दुबै जनालाई सकुशल उद्धार गरी आइतबार परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
प्रहरीका अनुसार, उनीहरूलाई भदौ ३ गते राति साढे ९ बजे हेटौडा बसपार्कबाट तीन जना भारतीय नागरिकले अपहरण गरेका थिए। अपहरण गरेर उनीहरूलाई भारत लगेको खुलेपछि नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा शनिबार राति भारतको बिहार राज्यको मोतिहारीबाट अपहरण मुक्त गराएको प्रहरीले जनाएको छ। भारतीय प्रहरीले अपहरणमा संलग्न दुई जनालाई दुई थान हतियारसहित नियन्त्रणमा लिएको छ ।
प्रहरी नायब उपरीक्षक रिमालले भने, “अपहरण मुक्त भएका दुवै युवक लागुऔषध प्रयोगकर्ता भएको खुलेको छ। अपहरण गर्नेहरू पनि चिनजानेकै हुन्। अपहरण भएको दिन उनीहरू सँगै बसेर कुराकानी भएको देखिएको छ।” अपहरणकारीले उनीहरूसँग प्रतिव्यक्ति पाँच लाख भारतीय रुपैयाँ फिरौती माग गरेका थिए। फिरौती नपाए मिर्गौला बेचिदिने भन्दै यातनासमेत दिने गरेको पाइएको प्रहरीले जनाएको छ। भारतीय प्रहरी र नेपाल प्रहरीको संयुक्त प्रयासमा उनीहरूको उद्धार गरिएको डीएसपी रिमालले बताए।
उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस






