दाङ : रुकुम पश्चिममा १५ वर्षीय भतिजाले नै आफ्नै काकीको हत्या गरेको तथ्य प्रहरीले सार्वजनिक गरेको छ।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४ घर भई हाल त्रिवेणी–३ मा बस्दै आएकी २६ वर्षीया मनकला खत्री खड्काको साउन ११ गते राति उनकै भतिजाले हत्या गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी ध्रुवकुमार श्रेष्ठले बताए।
प्रहरीका अनुसार गएको सोमबार बेलुका साँझ ७ बजेतिर गोठमा भैँसीलाई घाँसपात गर्न भनेर गएकी मनकला फर्केर नआएपछि उनकी सासू गाउँलेको सहयोगमा खोजी गर्न निस्किएकी थिइन्।
खोज्ने क्रममा उक्त दिन राति साढे ११ बजे मनकलाको शव गोठनजिकै स्थानीय गणेशबहादुर खड्काको मकैबारीमा हत्या गरेको अवस्थामा फेला परेको थियो । मनकलाका श्रीमान् वैदेशिक रोजगारको सिलसिलामा विदेशमा छन् । मनकला करिब ६ वर्षीय छोरी र सासूको साथमा बस्दै आएकी थिइन् ।
साउन १३ गते घटनाको अनुसन्धान गरिपाउँ भनेर परिवारले प्रहरीमा निवेदन दिएका थिए। हत्याकाण्डबारे अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोली र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले घटनामा मनकलाकै भतिजाको संलग्नता रहेको तथ्य उजागर गरेको हो ।
बिहीबार पक्राउ परेपछि आरोपितले घटना स्वीकार गरेको डीएसपी श्रेष्ठले जानकारी दिए । हत्यामा संलग्न व्यक्ति नाबालक रहेकोले प्रहरीले नाम भने सार्वजनिक गरेको छैन।






