कोरोना महामारीका कारण बन्द रहेको कतारका लागि सिमित नियमित उडान खुला गर्ने सरकारी निर्णयअनुसार आज (सोमबार)देखि कतारको दोहामा उडान सुरु भएको छ।
बैशाख २३ गतेदेखि बन्द गरीएको काठमाडौं-दोहा का लागि कतार एयरवेज र नेपाल एयरलाइन्सले प्रत्येक सोमबार १/१ उडान गर्ने छन्।
नेपालीहरु वैदेशिक रोजगारीमा जाने गन्तव्यहरुमा नियमित उडान खोल्न माग भएपनि सरकारले अहिले कतारका लागिमात्र खुला गरेको छ।
साउदी अरबमा उडान प्रतिबन्ध रहेको तथा अरु गन्तव्यमा पनि सहज नभएकाले तत्काल कतारका लागिमात्र उडान खोलिएको प्राधिकरणले जानकारी दिएको छ। अहिले कतार उडान खुला भएपनि कतार हुँदै अरु देशबाट पनि यात्रुहरु आउन पाउने छन्।
त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताप तिवारीका अनुसार कतार हुँदै अरु देशमा रहेका नेपालीहरु पनि आउन पाउने छन्।






