महोत्तरी : बर्दिवास नगरपालिका–३ पाटुका डा. सुवास घिमिरेले आफ्नो नगर बस्तीमा अस्पताल निर्माणका लागि रु एक करोडभन्दा बढी मूल्यको जग्गादान गरेका छन्।
आफैँ दन्त चिकित्सक रहेका डा घिमिरेले पाटुमा सरकारी जनरल अस्पताल निर्माणका लागि करिब रु एक करोड २५ लाख मूल्य पर्ने पाँच कठ्ठा जग्गादान गरेका हुन्। डा घिमिरेले निःशुल्क उपलब्ध गराएको जग्गामा शनिबार नै अस्पताल निर्माणको शिलान्यास गरिएको छ।
नगरप्रमुख बिदुरकुमार कार्कीले अस्पताल निर्माणका लागि नगरपालिकाले तत्काल रु ४५ लाख उपलब्ध गराउने प्रतिबद्धतासहित अस्पताल भवन निर्माणको शिलान्यास गरेका हुन्। अस्पताल भवन एक वर्षभित्र निर्माण सम्पन्न भएर त्यसलगत्तै सञ्चालनमा आउने नगरप्रमुख कार्कीको भनाइ छ।
शिलान्यास समारोहमा डा. घिमिरेले सामाजिक क्षेत्रमा जीवनका अन्तिम क्षणसम्म योगदान दिएका आफ्ना स्व पिताको स्मृतिमा अस्पतालका लागि जग्गादान गरेको बताए। बर्दिवास–सिन्धुली–बनेपा (बीपी) राजमार्गसँगै जोडिएको जग्गामा अस्पताल निर्माण थालिएको हो। सो अस्पताल निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि महोत्तरी, सिन्धुली, सर्लाही, धनुषा र उदयपुरसम्मका सर्वसाधारण स्वास्थ्य उपचार सेवाबाट लाभान्वित हुने डा घिमिरेको भनाइ छ।






