काठमाडौं : आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलअन्तर्गत पाँचौँ संस्करणको विजेताले तीन लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने भएका छन्।
संघले बिहीबार पत्रकार सम्मेलन गर्दै आउँदो चैतमा आयोजना हुने लिगको लागि सम्पूर्ण तयारी पूरा गरिएको जानकारी दिदै अघिल्लो संस्करणमा दुई लाख ५० दिइएकोमा योपटक भने महिला तथा पुरुष विजेता टोलीले तीन लाख पाउने भएका हुन्।
यस्तै, उपविजेताले एक लाख ५० हजार प्राप्त गर्दा तेस्रो हुने टोलीले ७६ हजार र चौथोले ३७ हजार ५०० रुपैयाँ पाउने नेपाल भलिबल संघले जनाएको छ। योपटक सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार तथा विधागततर्फ उत्कृष्ट खेलाडीहरुले जनही १० हजार पाउनेछन् ।
प्रतियोगिता चैत १९ देखि २६ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ। प्रतियोगितामा पाँचौँ आरबीबी एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा उत्कृष्ट भएका आठ पुरुष र ६ महिला टोलीले प्रतिस्पर्धा गर्नेछन्।






