काठमाडौं : चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा एक लाख रुपैयाँ दिएर आफ्नो नामको कुर्सी राख्न पाइने भएको छ।
सोमबार काठमाडौंमा धुर्मुस सुन्तली फाउन्डेसनले पत्रकार सम्मेलन गर्दै रंगशालामा आफ्नो नामको कुर्सी राख्न पाइने जनाएको हो। ३० हजार दर्शक क्षमता रहने भनिएको रंगशालामा आफ्नो नामको कुर्सी राख्न पाइने भएको छ। आर्थिक संकलनका लागि यो उपाय अपनाइएको हो।
आयोजक धुर्मुस सुन्तली फाउन्डेसनले निर्माणाधीन रंगशालाको हालसम्मको खर्च विवरणसमेत सार्वजनिक गरेको छ। फाउन्डेसनले रंगशाला निर्माणको कुल लागत तीन अर्ब ५५ करोड रुपैयाँ रहने जनाएको छ। रंगशाला निर्माणका लागि हालसम्म ३२ करोड ३० लाख २४ हजार ३५४ रुपैयाँ संकलन भएको छ। यो लागत रकमको ९.०९ प्रतिशत मात्र हो। ४३ करोड ४८ लाख ६ हजार ३८२ रुपैयाँ खर्च भइसकेको जनाइएको छ।
रंगशाला निर्माणमा ११ करोड १७ लाख ८२ हजार २७ रुपैयाँ ऋण रहेको फाउन्डेसनले जानकारी दिएको छ। रंगशाला निर्माणकार्यमा सहयोग पुर्याउन फाउन्डेसनले सबैलाई आग्रह गरेको छ।






