विराटनगर : मोरङको उर्लाबारी नगरपालिकाका युवा प्रवीन बास्तोला मृत्यु प्रकरणमा प्रहरीले ६ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काले घटनामा संलग्न भएको आरोपमा ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको जानकारी दिएका छन्। उनले भने, “अनुसन्धानलाई झन् मिहीन ढंगले अघि बढाएका छौं। जिल्ला अदालत मोरङमा ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ।” पक्राउ परेका दुई जनाको अदालतमा बयान गराइएको एसपी खड्काले बताए।
पुस ५ गते उर्लाबारी नगरपालिका वडा नम्बर ५ बस्ने ३१ वर्षीय बास्तोलाको शव गोदाबरी अस्पतालमा भेटिएको थियो। परिवारले उनको हत्या भएको दाबी गर्दै किटानी जाहेरी दिएका थिए।
प्रहरीका अनुसार उर्लाबारी ४ का रमेश गिरीको घरमा डेरा बस्ने रिकेश शिवा भन्ने मेहरमान दर्जीले बास्तोलालाई टेलिफोन गरेर बोलाएको भोलिपल्ट उनको शव अस्पतालमा भेटिएको थियो। शिवासहित राजेश रणपहेली र दिपेश पौडेलेले सँगै बसपार्क नजिकको सौरभी होटलमा मदिरापान गरेका थिए । बास्तोला शिवाको डेरामा सुत्न गएकोमा राति नै मृत्यु भएकोमा परिवारले भने त्यसको जानकारी पुस ५ गते बिहान ११ बजे मात्र पाएको बताएका छन्।
एसपी खड्काका अनुसार उर्लाबारी ६ का राजेश रणपहेली, दीपेश पौडेल, सुदीप परियार, मेहरमान दर्जी, कुमार राई र रमेश गिरीविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ। राई र दर्जी पक्राउ परिसकेका छन । बास्तोला मृत्यु सम्बन्धी अनुसन्धानको फायल (मिसिल) मा तस्बिर फरक परेको पाइएपछि बास्तोलाकी बहिनी सदीक्षा, आफन्त र स्थानीयले त्यसको विरोधमा उर्लाबारी प्रहरी कार्यालय घेराउ गरेका थिए। प्रदेश राजधानी विराटनगरसमेत आएर न्याय माग्दै प्रदर्शन गरेका थिए। घटनालाई न्यायपूर्ण तरिकाले अनुसन्धान गर्न उनीहरुले ध्यानाकर्षण गराएका थिए।
बुधबारमात्र जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी घटनामा प्राप्त उपलब्धीबारे जानकारी गराएको थियो। मृत्यु शङ्कास्पद भन्दै आफन्तले पुस ९ गते उर्लाबारी–६ का ३१ वर्षीय राजेश रणपहेलीसहितका विरुद्ध इलाका प्रहरी कार्यालय उर्लाबारीमा किटानी जाहेरी दिएका थिए।
पक्राउ परेका उनी माघ २ गते सरकारी वकिलको कार्यालयको निर्देशनपछि हाजिरी जमानीमा छुटेका थिए। प्रहरीले पुनः मुद्दा दर्ता गराई अघि बढाएको हो। उर्लाबारी प्रहरी कार्यालयका प्रहरी निरीक्षकसहितलाई अनुसन्धानमा तानिएको छ।
बास्तोलाको शव धरानस्थित बीपी प्रतिष्ठानमा शल्यपरीक्षण गर्दा निसास्सिएर मृत्यु भएको भन्ने रिर्पोट आएको प्रहरीको भनाइ छ।






