काटमाडौं- नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे मौन बसेको उत्तरी छिमेकी रास्ट्र चीनका उच्च अधिकारी आइतबार काठमाडौं आउने भएका छन्।
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौकोको नेतृत्वको टोली आइतबार काठमाडौं आउन लागेको हो।
उपमन्त्री येचौकोले नेकपाका शीर्ष नेताहरुलाई भेट्ने बताइएको छ। तर भ्रमणबारे नेकपा र काठमाडौंस्थित चिनियाँ दूताबासले थप बताएको छैन।
यसअघि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति, प्रधानमन्त्रीका साथै नेकपाका शीर्ष नेताहरुलाई भेटेकी थिइन्। भेटहरुमा उनले पार्टीको विवाद र राजनीतिक घटनाक्रम कसरी अगाडि बढ्छ भन्ने बढी चासो राखेकी थिइन् ।
तर चीनले संसद विघटन र नेकपामा आएको फुटबारे औपचारिक प्रतिक्रिया भने दिएको छैन। चिनियाँ सरकारी सञ्चारमाध्यममा प्रकाशित सामाग्रीहरुले भने पछिल्लो घटनाक्रमप्रति चीन खुसी छैन भन्ने स्पष्ट सन्देश दिएका छन्।





