काठमाडौं- स्पेनिस ला लिगा फुटबलमा नयाँ सिजन २०२०–२१ अन्तर्गत सिजनको पहिलो मड्रिड डर्बी रियल मड्रिडले जितेको छ। नेपाली समयअनुसार आइतबार बिहान मड्रिड सहरका दुई ठूला टोलीबीच भएको भिडन्तमा घरेलु टोली रियल मड्रिडले पाहुना टोली एथ्लेटिको मड्रिडमाथि २–० को सहज जित निकाल्न सफल भयो। टिम ‘बी’ को घरेलु मैदान स्टाडियो अल्फ्रेडो डि स्टेफानो रंगशालामा रियलले पाहुना टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो।
रियलको जितमा १ गोल ब्राजिलियन खेलाडी कासेमिरोले गरे भने अर्को गोल ड्यानी कार्भाहालको खतरनाक सटमा एथ्लेटिकोका गोलकिपरबाट आत्मघाती गोल भएको थियो । रियलका लागि खेल सुरु भएको १५औं मिनेटमै मिडफिल्डर कासेमिरोले गोल गर्दै अग्रता दिलाएका थिए। टोनी क्रुसको कर्नर किकबाट आएको बलमा बक्सभित्र अनमार्क रहेका कासेमिरोले निकै सुन्दर फिनिसिङमा हेडिङ गोल गरेका थिए।
दोस्रो हाफमा पाहुना टोलीले केही सुधारिएको खेल खल्यो । तर, दोस्रो गोल खाएपछि उसको हातबाट खेल फुत्कियो । खेलको ६३औं मिनेटमा रियलका डिफेन्डर कार्भाहालले लामो दूरीबाट हानेको रकेट सट पोलमा लागेर गोलकिपर जान ओब्लाकलाई लाग्दै पोस्टमा छिरेपछि खेलमा रियलले २–० को अग्रता लियो। सो गोललाई आत्मघाती गोलको मान्यता दिइयो।





