काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति तथा सम्सदिय दलका नेता शेरबहादुर देउवा नआउने भएपछि आज बिहान ९ बजेलाई तय गरिएको संवैधानिक परिषद्को बैठक नहुने भएको छ।
“प्रमुख प्रतिपक्षी दलका नेता नआउने भएपछि आजको बैठक नबस्ने भएको हो। नेकपाको स्थायी कमिटीको बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बोलाएका थिए । पार्टीभित्रको विवाद यथावत् रहेको अवस्थामा बैठक स्थगित गर्न प्रधानमन्त्रीलाई नेकपा भित्रैबाट दबाब थियो।
त्यस्तै काङ्ग्रेस सभापति देउवालाई पनि बैठकमा नजान पार्टीभित्र दबाब थियो। सोमबार सरकारविरूद्ध देशव्यापी विरोध प्रदर्शन राखिएकाले परिषद्को बैठकमा सहभागी भएर भागबन्डा गर्न नहुने र त्यसले गलत सन्देश जाने काङ्ग्रेस नेताहरूले बताउँदै आएका थिए।
यसअघिका पनि देउवा अनुपस्थित हुँदा संवैधानिक परिषद्को बैठक प्रभावित हुँदै आएको थियो। परिषद्को बैठक नबस्दा ४५ बढी संवैधानिक पदहरू पूर्ति हुन सकेको छैन ।





