विराटनगर : विराटनगरका बजारमा भन्सार छली र चोरी पैठारी गरी ल्याएको ठूलो परिमाणमा कपडा बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले छापा मारी ३३ लाखभन्दा बढी मूल्यको भन्सार छली र चोरीपैठारी गरी अवैध रूपमा भण्डारण गरेको अवस्थामा विहीबार कपडा बरामद गरेको हो ।
विराटनगर महानगरपालिका वडा नं. ७ जलजला चोक नजिक तरुण कुमार साह (रौनियार) को गोदाम पसलमा प्रहरीले दिउँसो छापा मारेको थियो । त्यस क्रममा भन्सार छली चोरी पैठारी गरी अबैध रुपमा भण्डारण गरेको सर्ट (३२८३ पिस, जम्फ २३ पिस र पाइन्ट ३५ पिस अन्दाजी मूल्य रू. ३३ लाख ४१ हजार ९ सय बराबरको भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
बरामद भएको कपडा आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाइने कार्यालयका प्रवक्ता डीएसपी मानबहादुर राईले बताएका छन् ।






