खोटाङ : कोरोना भाइरसको महामारी नियन्त्रण गर्न गत चैत ८ गतेदेखि बन्द त्रिधार्मिकस्थल हलेसी आठ महिनापछि खुला गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने खतरालाई ध्यानमा राखेर दर्शन गर्न आउने दर्शनार्थीको पूजाआजा नरोकिने गरी मुख्य गुफा (महादेव–पार्वती थान) र बसाहा गुफा प्रवेशमा रोक लगाइएको आठ महिनापछि पुनः खुला गरिएको हो ।
हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसी विश्वभर एकैसाथ महामारीका रुपमा कोभिड–१९ को सङ्क्रमण फैलिएसँगै बन्द गरिएको थियो । मुलुकका महत्वपूर्ण धार्मिकस्थल खुला गरी भक्तजन प्रवेश गराइएको तथ्यहरु उल्लेख गर्दै हलेसी तुवाचुङ नगरपालिकाले सूचना जारी गरेर जनस्वास्थ्यका मापदण्ड पालना गर्दै तीर्थालु भक्तजनलाई मन्दिर प्रवेशमा खुला गरिएको जानकारी दिएको छ ।






