Home / Politics / ओलीको ४० प्रतिशत पुग्दैन, अध्यादेश ल्याएर फुटाउन सक्छन् : सुरेन्द्र पाण्डे

ओलीको ४० प्रतिशत पुग्दैन, अध्यादेश ल्याएर फुटाउन सक्छन् : सुरेन्द्र पाण्डे

पोखरा । नेकपाको शक्ति संघर्ष चर्किँदै जाँदा जिल्ला र प्रदेश तहमा गुटगत भेला हुन थालेका छन् । नेकपाको सचिवालय बैठक १३ गतेसम्मलाई रोकिएको छ । 

यहीबीचमा प्रदेश तथा जिल्लास्तरीय गुटका भेला हुन थालेका छन् । शनिबार चितवन पुगेका नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा ओली पक्षीय कार्यकर्ताहरुले नाराबाजी र होहल्ला गरेका थिए ।

उनी पाण्डे आइतबार पोखरामा आएर गोप्य भेला गरेका छन् । कास्कीसहित गण्डकी प्रदेश ओली पक्षको पकड क्षेत्र हो । गण्डकी प्रदेशसभामा पूर्वएमालेका २८ मध्ये २७ जना सांसद ओली पक्षका हुनुले पनि यहाँ ओली प्रभाव कस्तो छ भन्‍ने बुझ्‍न सकिन्छ ।

यही ओलीको गढमा आइतबार उनै पाण्डेले गुटको भेला गरेका छन् । गोप्य भनिएको उक्त बैठकको बारेमा सूचना चुहिएपछि सामाजिक सञ्‍जालभरी चर्को विरोध भइरहेको छ । उक्त बैठकमा सहभागी एक विद्यार्थी नेताका अनुसार पाण्डेले नेकपाको शक्ति संघर्षको बारेमा ओलीलाई आरोप लगाएका छन् ।

उनले भने, “धेरै लामो भएन, खासै केही त रहेनछ । उहाँले पार्टी फुट्ने स्थिती छैन, हामीले फुटाउने होइन, फुटाए भने ओलीले अध्यादेश ल्याएर फुटाउँछन । हामी सुधारतर्फ उन्मुख छौँ, तपाईहरु पनि त्यही अनुसार लाग्नुहोस ।”

नेपाल पक्षीय नेताका अनुसार यो भेलाभन्दा पनि भेटघाट हो । तर, स्थायी कमिटी सदस्य उपस्थित भेलामा माधव नेपाल पक्षका नेता कार्यकर्ता मात्र सहभागी थिए । “भेला भन्दा पनि भेटघाट हो, अरुसँग नभेट्ने गरि आएका हौँ । भनेर उहाँले भन्नुभयो, ” ती विद्यार्थी नेताले भने ।

उनले पार्टीका अन्य विषय र चितवनको घटनाबारे भने सार्वजनिक रुपमा बोलेनन् । 

माउण्ट कैलाश रिसोर्टमा साँझ अबेरसम्म भएको भेलामा नेपाल पक्षीय नेताहरु मात्र उपस्थित थिए । सादा पोशाकका सुरक्षाकर्मी खटाइएको थियो भने भेलामा सहभागीको चेकजाँच पनि कडा पारिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *