मुम्बई । अभिनेता वरुण धवन अभिनीत चलचित्र ‘कुली नम्बर १’ यस वर्षको सुरुमै रिलिज गर्ने तयारी थियो । कोरोना महामारीका कारण रिलिज मिति अनिश्चितकालका लागि स्थगित गरियो ।
अन्तत: चलचित्र ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको छ । कोरोनाकालमा थुप्रै बलिउड चलचित्र अनलाइन रिलिज भइसकेका छन् र भइरहेका पनि छन् । तर ती कुनै पनि चलचित्रले प्रचारका कार्यक्रम भने गरेका थिएनन् ।
तर ‘कुली नम्बर १’ को प्रोमो दर्शकको उपस्थितमा कार्यक्रम गरी गर्ने तयारी भएको छ । सम्भवतः अर्को साता चलचित्रको प्रोमो सार्वजनिक गर्न वरुण उत्तर भारतका सहरहरु जानेछन् ।
हलमा रिलिज गरिने बेला आयोजना हुने प्रचार कार्यक्रमहरु जस्तै अनलाइन रिलिज हुँदा पनि प्रचार गर्नु आवश्यक सोचेर निर्माण टिमले कार्यक्रम तय गरेका हुन् । चलचित्र डेभिड धवनको निर्देशन र वाशु भगनानीको निर्माणमा बनेको हो । सन् १९९५ को चलचित्र ‘कुली’ को रिमेक यस चलचित्रमा वरुणका साथै सारा अली खान र परेश रावल पनि मुख्य भूमिकामा छन् ।





