सबिना अधिकारी
म ब्यवस्थापन सङ्काय अन्तरगत नेपाल कमर्स क्याम्पसमा स्नातक तह चौथो बर्समा अध्यनरत छु। हरेक बिहान कलेजको लागि तयार भएपछि हिड्ने बेलामा आमाको अनुहार मलिन हुन्छ र उहाको मायारुपी हातहरु मेरो अनुहारमा सल्बलाउन थाल्छन् अनि भन्नु हुन्छ छोरि कसैसंग केहि नबोली सरासर जानु है।
म सार्बजनीक गाडी चडेर कलेज आउने जाने गर्ने भएकाले कलेज बाट घर आउँदा र कलेज जाँदा घर छोडेपछि सोच्ने गर्छुकी किन मलाई मेरो आमा आज भोली मेरो बारेमा धेरै चिन्ता लिइरहनु भएको छ।
मेरी आमा जसले मलाई समाजमा छोराले पाउने कथित स्वतन्त्रताको लागि कहिले पनि छोरि भएकै कारण विभेद गर्नुभएन, हरेक कुरामा अपराध अन्याय सहने होइन लड्नुपर्छ भनेर सिकाउनुभो तर आजकल उँहा किन शिथिल हुनुभएको छ?
मैले पत्ता लगाउन सकिन। एक्कासी आमाको व्यवहारमा आएको परिबर्तनको कारण खोज्दै जादा मुस्कान खातुन माथी भएको एसिड
आक्रमणमा गएर अडीए। हो आजकल आमा त्यहि बेलादेखि परिवर्तन हुनु भएको छ जुन दिन मुस्कान खातुन माथी एसिड आक्रमण भयो।
सायद मेरी आमा मात्र होइन म जस्ता लखौ नारीहरुको आमा यस्तै डराइरहनुभएको छ होला! उहाँहरुको मनमा एउटा मात्र डर छ कि मेरो छोरीमाथी कसैको कुदृस्टी त छैन।
जसरी मुस्कान कसैकी छोरि हुन्, बैनी हुन्, उनलाई एसिड छर्ने पनि त कसैका छोरा हुन्, कसैका दाई नै त होलान नि।
यदि ति एसिड प्रहार गर्ने मानिसको घरकी बहिनी या दिदि वा छोरी कसैमा मुस्कानलाइ जस्तै एसिड प्रहार गरेमा कस्तो महसुस गर्थे होला?
उनले मुस्कानलाई एसिड प्रहार गर्न अघि मुस्कानको ठाँउमा आफ्नी बहिनिलाइ राखेको भए पक्कै पनि उनले यसो गर्न सक्दैनथे होला।
यदि आफ्नी बहिनिलाइ मुस्कानको ठाउँमा राखेका थिए भने ति युवकको प्यारी वहिनी मुस्कान बन्न सक्दैनथिन होला त? एउटा दाईले वहिनी कसरी जलाउन सक्छ ? कसरी जिउदै मार्न सक्छ ? म अलिक भाबुक भएँ।
मनमा अनेकौं विचारले साम्राज्य जमाउन थाले। हामी अपराधको मात्र कुरा गरिरहेका छौ तर त्यसको कारण बारे खोतल्ने प्रयास नगरेकै कारण हाम्रा अन्य छोरी चेलिलाई पनि क्रमसः एसिड छ्यापिन लागि तयार गरिरहेका छौ। जसको दृस्टान्त छोटो समयमै हाम्रा अन्य चेलीहरुले भोगिरहेका छौ।
हामीले ठुलो मान्छेको लागि जेल बनाउनु भन्दा सानो मान्छेको लागि स्कुल बनाउनु उपयुक्त हुन्छ भन्ने भनाईलाई मनन गर्नको सट्टामा एउटा यसलाई एउटा भनाइको रुपमा मात्र लिनु नै सबैभन्दा ठुलो कमजोर हो।
अपराधका पृषभुमि हेर्ने हो भने जो अन्याय अत्याचार सहेर आएको छ, जो असल शिक्षा, पारिवारिक माया र सस्कार पाएको छैन धेरै यस्तै किसिमका मानिस अपराधी बनेका छन।
नेपाली मनोविज्ञान क्रमस: अराजक र अशान्त बन्दै गइरहेको छ। यसरी समाज अशान्त र अराजक बन्नुको कारण खोज्नु र यसको समाधान गर्नु समाजका नेतृत्वकर्ताहरुको काम होइन र?
तर आज यिनै नेतृत्वहरु नै जिम्मेवारीबाट पन्छीएका छन् ।अन्याय र अत्याचारको पासोले चेपिएका भन्दा स्कुलको कक्षाबाट निकालेर आन्दोलनमा होमीन उत्साहित गराएका व्यक्तिहरुले समाजमा जुन आगो बाले त्यसलाई ननिभाई आफ्नो स्वाथपूर्तिमा लाग्दा सो आगो भुसझैँ सल्कदै छ।
जसको असर विभिन्न रुपबाट समाजमा देखिदै छ। आफु पछाडि बसेर समाजलाई सभ्यतातर्फ उन्मुख गराई ससंकारयुक्त लोकतान्त्रिक चरित्र निर्माण गर्न चुकेकै कारण आज हामी यति अराजक बन्दै गहिरहेका छौ।
नेपाल लोकतान्त्रिक देश हो , म त्यहि लोकतान्त्रिक देशको सभ्य भनँउदो नागरिक हुँ।
मेरो क्याम्पसमा पढाई हुदैन, मैले बिभिन्न वाहानामा मेरा प्रोफेसरहरुलाइ थुन्छु, कुटपिट गर्छु, अनि मेरा कलेजका भौतिक सामग्री फुटाउछु।
कुन यस्तो सरकारी क्याम्पस होला जहा त्यस्तो नियति भोग्न नपरेको होस आँफु अध्यनगर्ने हामीहरु यस्ता छौ भने जो गर्भमै द्वन्द्वका बिच हुर्कियो भने उसको मनोबिज्ञान कस्तो होला? यस तर्फ कसैको ध्यान जाला?
मेरो देश सार्भभौम छ हामी कानुनको शासनमा बिस्वाश गर्छौ भनेर नथाक्ने हामी आज त्यही कानुनको गलपासोले बेरीएर मर्न थालेका छौ।
समाजमा अपराघीहरु खुलेआम हिडिरहेका छन्। एउटा केटीलाई एसीड आक्रमण गर्नेहरु, बलात्कार गरेर हत्या गर्नेहरु समाजमा खुलेआम हिड्दछन भने यसलाइ कस्तो कानुनी राज्य हो भनेर बुझ्ने आम मानिसहरुले?
सामाजिक संजालमा लेखेकै भरमा पक्रेर हिरासतमा राख्ने हाम्रो प्रशासन मुस्कान खातुन देखि निर्मला पन्त सम्मको घटनामा बेखबर बन्न पुग्छ।
मुस्कान खातुनलाई आक्रमण गरेपछि उनीसङँको अन्तरबार्ताको भिडीयो सामाजिक संजालमा भाईरल हुदै थियो ठिक त्यति नै बेला फेरी पवित्रा कार्कीलाई आक्रमण भयो।
यस्तो नियतिको शिकार कहिले सम्म हुने हामी नारीले?उनको बाकी जिन्दगीको बारे विभिन्न टिकाटिप्पणी हुदाहुदै उनको जिबनप्रति बुझाई, आत्मबिश्वाश को लागि हामी सबै गौरब गर्नुपर्छ।
१४ बर्षे बालिका जो स्कुल जादै गर्दा बाटोमा नै एसीड हानिन्छ कथित सभ्यहरु बसिने भनीएको राजधानीमा। प्रेम प्रस्ताब अस्विकार गरेकै कारण आफ्नो मालिकद्वारा एसीड छ्यापिन्छ, यहाँ आफ्ना बाटै असुरक्षित हुनुपर्छ भने सुरक्षित चै कसबाट महसुस गर्ने हो?
श्रीमानकै हातबाट आक्रमण को शिकार बनेको जेनी खड्कालाई के थाहा थियो होला र केहि दिन सम्म मायाले सुम्सुमाउने हातले एसिड आक्रमण हुन्छ भन्ने?
दाईजो नल्याउदा प्रेम प्रस्ताव अस्विकार गर्दा लगायतका समस्याका कारणले महिलाहरु कहिले सम्म यस्तो नियतिको झापड खानु पर्ने हो ?
के व्यक्तिगत स्वतन्त्रता भन्ने महिलाको हकमा लागु हुदैन ? एउटा घटना बिर्सने तरखरमा हुन्छौ तब अर्को घटना हामीसामु आउंँछ।
यस्तो त्रासमा कहिले सम्म रहने ? नेपालको संबिधान २०७२ को धारा २१ ले अपराध पीडितको हक सुनिश्चित गरेको छ।
अपराध पीडितलाई कानुन बमोजिम सामाजिक पुनस्थापना सहितको न्याय पाउने हक सुनिश्चित गरेको छ।
तर जति नै राम्रो कानुन बनाएता पनि अपराधीले सजाय पाएको र पीडितले न्याय एबम क्षतिपूर्ति पाएको बिरलै सुन्न पाईन्छ।
सरकारले कडा प्रावधान सहितको अध्याधेस जारी गरेको छ तर खै त्यसको पनि कार्यान्वयन कसरी होला र भन्ने अबिस्वाश छर्दै छ , तैपनि आशा गरौ त्यस्ता घटना अब दोहोरिने छैनन्।
आगामी दिनहरुमा एसीड आक्रमण मात्र कहाँ होर रजस्वला नहुदै किशोरी हरु बलात्कृत भएका छन् भने कस्तो समाज निर्माण गरिरहेका छौ हामीले?
अब दाजुभाइ लडाउने राजनैतिक आन्दोलन होइन , समाज सभ्य एबम सुरक्षित् र अपराध बिहिन बनाउने शान्तिपूर्ण सामाजिक आन्दोलनको खाँचो छ।
घर घर बाट सुरु गरौ, एक सभ्य समाज निर्माण गर्ने पारिवारिक, सामाजिक आन्दोलन ।






