काठमाडाैं : व्यक्ति–व्यक्तिमा हिन्दू भाव जागरण गर्दै समाजमा सुप्त रहेका स्वाभिमान उकास्नका लागि हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानको शुभारम्भ गरिएको छ ।
ललितपुरको एकान्तकुनास्थित केन्द्रीय कार्यालयमा आयोजित उद्घाटन कार्यक्रमबाट अभियान शुभारम्भ भएको यस अभियानका राष्ट्रिय संयोजक रूक्माङ्गद कटवालले जनाएका छन्। पूर्व प्रधानसेनापति समेत रहेका कटवालले कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा सबैलाई जोड्ने संस्कृति भनेकै हिन्दू संस्कृति भएको बताए।
यसअघि स्वागत मन्तव्य एवं कार्यक्रमको रूपरेखा राख्दै राजनीतिक विश्लेषक देवेश झाले आम जनमानसले आफ्नो गौरवशाली संस्कृतिको स्वाभिमान बिर्सिएको हुनाले नै समाजमाविकृति विसंगति मौलाइरहेको बताए ।
जूममार्फत आभासी माध्यमद्वारा देशभरिका एक हजार कार्यकर्ता तथा शुभचिन्तकहरू जोडिएको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय गुरुकुल शिक्षा परिषद्का उपाध्यक्ष स्वामी केशवानन्दले हिन्दू राष्ट्रको हाम्रो सङ्कल्पना विषयमा बौल्दै सबै संस्कृतिले सहजताका साथ सास फेर्न सक्ने सुनिश्चितता नै ऋषिमुनि प्रणीत हिन्दू संस्कृति रहेको उल्लेख गरे।
शान्तिधामका मठाधीश स्वामी चतुर्भुजाचार्यजी महाराजले स्वाभिमान जागरणबारे आफ्नो मन्तव्यमा हामीले हाम्रो स्वत्वलाई जीवनमा कायम गरे मात्र राष्ट्रले आफ्नो सही चिनारी दिन सक्ने बताए।
हिन्दू स्वकयंसेवक संघ नेपालका राष्ट्रिय सह–संघचालक कल्याण कुमार तिम्सिनाले अभियानको कार्यपद्धति र त्यसको अपेक्षित परिणामबारे मन्तव्य राखेका थिए ।





