काठमाडौं : पूर्वकांग्रेसीको नेतृत्वमा राजावादीहरु गोलबद्ध भएका छन् । पृथ्वीनारायण शाहको २९९औं जयन्ती मनाउने सन्दर्भ पारेर राजावादीहरु भेला भएका हुन् ।
अभिनेत्री मनीषा कोइरालाले आउनुस् है भन्दै विज्ञप्ति तथा सामाजिक सन्जालबाट आह्वान गरेपछि धेरै सञ्चारकर्मी पनि भेलामा पुगेका थिए। तर अभिनेत्री कोइरालाले पृथ्वीनारायण शाहको जन्मजयन्ती भव्य रुपमा मनाऔं, आगामी २७ गते रत्नपार्क जाऔं’ भन्दै अभियान मात्र सुनाएर बिदा लिएपछि ठूलो संख्यामा पुगेका मिडियाकर्मीसहित यु-ट्युबरहरु निराश भएका थिए।
केही सञ्चारकर्मी तथा युट्युबरहरु बाहिरिए पनि केही भने कार्यक्रम सकिँदासम्म कुरेर अभिनेत्री कोइरालाई केही प्रश्न गरेका थिए। तर सञ्चारकर्मीले राखेको जिज्ञासामा अभिनेत्री कोइरालाले खुलेर जवाफ भने दिइनन्। सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्सा समेटेको कदमलाई समर्थन गर्दा भारतीय सञ्चारमाध्यमले खेदेको प्रसंगमा राखेको जिज्ञासमा मनीषाले ‘भारतीय मिडियाले भारतलाई माया गर्नु स्वभाविक भएको भन्दै नेपाली मिडियाले नेपाललाई माया गर्नुपर्ने’ बताएकी थिइन्।
“अहिले देशको आवश्यकता एकताबद्ध भएर अघि बढ्ने हो,” कोइरालाले भनिन्, “हामी यहाँ राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती भव्य रुपमा मनाउनका लागि हो ।” कुनै पनि व्यक्तिको व्यक्तित्व हेरेर जन्मजयन्तीको मूल्य हुने भन्दै उनले पृथ्वीनारायण शाहको जयन्ती राष्ट्रिय रुपमा ठूलो महत्त्व रहेको बताइन्।





