काठमाडौं : पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा ११ किलो सुन घोटाला भएको भनी परेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अघि बढाएको छ ।
अख्तियारमा चाँदीको जलहरीलाई हटाएर सुनको जलहरी हाल्ने क्रममा ११ किलो सुन गायब भएको उजुरी परेको थियो। १०८ किलोको सुन जलहरीमा लगाइएको भनिएकोमा ९७ किलो सुनमात्रै प्रयोग भएको दाबी गरिएको छ।
अख्तियारले अनुसन्धानको दायरा बढाउँदै कोषका पूर्व सदस्य सचिव प्रदीप ढकाल, सदस्य सचिव मिलनकुमार थापासँग बयान लिएको छ। सुनको जलहरीमा तामा मिसाई ११ किलो सुन गायब बनाइएको आरोप कोषलाई लागेको छ। त्यसकै आधारमा आयोगले कोषका पदाधिकारीहरूको बयान लिएको छ ।
पशुपतिको शिवलिंगमा सुनको जलहरी राख्न नहुने भन्दै लामो समय विवाद भएको थियो । पछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा जलहरी राख्ने काम अघि बढेको थियो ।
१०८ किलोको सुनको जलहरी हाल्ने भनिएपनि ९७ किलोमात्र लगाएर बाँकी सुन गायब बनाइएको उजुरीका आधारमा अनुसन्धानमा सक्रियता देखाएको आयोगले जनाएको छ ।अख्तियार स्रोतकाअनुसार सुन गायब भए नभएको टुंगो लागिसकेको छैन। ‘‘११ किलो सुन गायब भएकोबारे अनुसन्धान भइरहेको छ। अहिले नै हामीले बोल्न मिल्दैन । अनुसन्धानको प्रक्रियामै छ,” अख्तियार स्रोेतले भन्यो ।
कोषले जलहरी हाल्दा र राष्ट्रपतिले जलहरी उद्धघाटन गर्दा १०८ किलोकै सुन भनिएको थियो । सुनको जलहरी राख्ने काम प्राचीन स्मारक ऐन २०१३ विपरीत रहेको भन्दै चौतर्फी आलोचना हुन थालेपछि कोषले जलहरी नेपाली सेना र नेपाल प्रहरीको सुरक्षामा निर्माणको काम थालेको थियो । त्यसकै आधारमा कोषले गोप्य रूपमै जलहरी उद्धघाटनको समय तोकेको थियो ।
‘‘जलहरीमा तामा मिसाएर सुन पचाउन खोजिएको भन्ने छ । जलहरी हाल्दा सहभागी भएका पदाधिकारीहरूको बयान लिने काम भइरहेको छ। जलहरीमा ११ किलो सुन गायब भएकोबारे अनुसन्धान प्रक्रिया अघि बढेको बेलामा केही बोल्न मिल्दैन,” अख्तियार स्रोतले भन्यो।
ओली नेतृत्वको सरकारले ३० करोड र बाँकी ६० करोड कोषको लागतमा सुन खरिद प्रक्रिया अघि बढेको थियो। जलहरी हालिसकेपछि फागुन १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्धघाटन गरेकी थिइन्।






