काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकको स्वायत्तता एवं निष्ठालाई कायम राख्ने प्रतिबद्धता जनाएका छन् ।
आज पदभार गर्दै उनले केन्द्रीय बैंकको रुपमा राष्ट्र बैंकले विशिष्ट पहिचान बनाएको उल्लेख गर्दै उनले बैंकको छवि, स्वायत्तता एवम् निष्ठालाई कायम राख्ने बताए ।
उनले कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी संक्रमणका कारण नेपालको अर्थतन्त्रसमेत प्रभावित भएको उल्लेख गर्दै मुलुकको वित्तीय प्रणालीलाई सकारात्मक दिशातर्फ लैजान आफू प्रयत्नशील रहने बताए ।
कोरोना भाइरसको संक्रमणका कारण व्यावसायिक वातावरण प्रभावित भएको अवस्थामा त्यसलाई समुचित सम्बोधन गर्नका निम्ति नेपाल राष्ट्र बैंक तयार रहेको उनले बताए ।
“कोरोना भाइरसको संक्रमणले परिस्थितिलाई कहाँसम्म पुर्याउँछ भन्ने कुराको कुनै निश्चितता छैन” उनले भने, “आउने चुनौतीलाई सम्बोधन गर्नको निम्ति नेपाल राष्ट्र बैंकले आवश्यक पहल गर्ने छ ।”






