Home / Nepal / यो फुर्सदको समयमा घरमा रहेका फूलहरुको कसरी स्याहार गर्ने ?

यो फुर्सदको समयमा घरमा रहेका फूलहरुको कसरी स्याहार गर्ने ?


काठमाडौं, १३ चैत । कोरोना भाइरस (कोभिड–१९) का कारण देश अहिले लक डाउनको अवस्थामा छ । यो फुर्सदको समयमा तपाईले आफ्नो घरमा रहेका फूलहरुको स्याहार गरेर समेत समय बिताउन सक्नुहुन्छ ।


स्वस्थ तथा राम्रो बिरुवा उत्पादनका लागि हावापानी तथा वातावरण अनुकूल हुनुपर्छ । मानिसलाई जस्तै फोहोर तथा प्रदूषणका कारणले बिरुवामा पनि रोगको संक्रमणको जोखिम हुन्छ । बेसिजनमा बिरुवा उत्पादन गर्न तथा हुर्काउन र बढाउन पनि समस्या हुन्छ।

राम्रो फूल फुलाउन फूलको बीउ राख्दादेखि नै विशेष ध्यान दिनु पर्छ । त्यसमा पनि हाइब्रिड जातका बीउ उत्पादन गर्दा होस् या हुर्काउँदा, बढाउँदा तथा फुलाउँदा नै किन नहोस् विशेष ध्यान दिनुपर्छ । सिजनल फूललाई झन् विशेष ध्यान दिनु पर्छ।

मल धेरै भए पनि सिजनल फूलका बिरुवा मर्न सक्छन् भने मल कम भयो भने पनि राम्रो फुल्दैनन् त्यसकारण मलको मात्रामा पनि राम्रोसँग ध्यान हुनुपर्छ । राम्रो सिजनल फूल फुलाउनका लागि हावापानी पनि अनुकूल हुन आवश्यक हुन्छ।

घर तथा अफिसको सोभा बढाउनका लागि सिजनल फूल निक्कै आकर्षक र सुन्दर देखिन्छन् । घर तथा अफिस, पार्कलगायतको सिंगारपटारका लागि सिजनल फूल आकर्षक हुन्छ । आजभोलि हाइब्रिड जातका फूलको मोह दिन प्रतिदिन बढिरहेको छ।

फूलका दुई सिजन
वनस्पति विभागका पूर्व वैज्ञानिक अधिकृत कुवेरजंग मल्ल पनि सिजनल फूलको दुई सिजन हुने बताउँछन् । सामान्यतया फूलको सिजनलाई दुई सिजनमा विभाजन गरिन्छ । सामान्यतया बर्से र हिउँदे गरी दुई सिजनमा सिजनल फूल रोपेर फुलाइन्छ।

तस्विर: स्वर्णिमा नर्सरी, ललितपुर

सामान्यतयाः वैशाखदेखि असोजसम्मको समयमा गर्मी्सिजनमा हुने फूल रोपिन्छ भने कात्तिकदेखि चैत महिनासम्ममा जाडो सिजनमा हुने फूलका बिरुवा रोपिन्छ।

वैशाखदेखि असोजसम्मको गर्मी्सिजनमा मुख्यगरी सयपत्री, मखमली, सेलेसिया, भिंका, साल्भिया, जिनियालगायतका सिजनल फूल रोपेर फुलाइन्छ । गोदावरी पनि असार—साउनमै रोपिने भएकाले गर्मी सिजनकै फूल मानिन्छ।

गर्मीको तुलनामा जाडो सिजनमा धेरै भेराइटिका हाइब्रिड जातका सिजनल फूल हुन्छ । कात्तिकदेखि चैत महिनासम्म हुने जाडोसिजनका सिजनल फूलमा फिटुनिया, प्यान्जी (पेन्सी), भ्यागुते (इटरनेम), डेन्थस, गजिनिया, भर्बिना, सिनेरिया लोकप्रिय फूल हुन् । सामान्यतयाः लाहुरे (डालिया) फूललाई गर्मी्सिजनको फूल मानिए पनि यो जाडोगर्मी दुवै सिजनमा हुन्छ । फागुनदेखि कात्तिकसम्म लाहुरे फूल फुलेको पाइन्छ।

हर्टिकल्चर विशेषज्ञ अनिल आचार्यका अनुसार दुवै सिजनका फूलका बिरुवा हिमाल, पहाड र तराई क्षेत्रमा फूलाउन सकिन्छ । तर धेरै चिसो र अत्यधिक गर्मीमा भने बिरुवा हुर्काउन कठिन हुन्छ।

गर्मीमा कसरी फूल फुलाउने ?
गर्मीको सिजनमा हुने सिजनल फूलको बिरुवा बचाउन सजिलो हुने बताउँछन्, वैज्ञानिक मल्ल । मल्ल भन्छन्, ‘गर्मीमा सानो बिरुवा पनि सजिलै बचाउन सकिन्छ ।’ धेरै घाम भयो भने सिल्पोलिन जातको सेतो प्लाष्टिकको सेट हालेर पनि हावापानीको व्यवस्थापन गरेर फूलको राम्रो बिरुवा बनाउन सकिने बताउँछन्, यस क्षेत्रका विज्ञ।

विशेषगरी गर्मी सिजनका सिजनल फूलका बिरुवामा कुखुराको मल हाल्न नहुने हर्टिकल्चर विशेषज्ञको सल्लाह छ । कुखुराको मल कडा हुने भएकाले कुखुराको ताजा मल पनि बिरुवामा नहालेकै राम्रो भन्छन्, मल्ल । ताजा कुखुराको मलले सिजनल बिरुवा डढ्ने तथा मर्ने जोखिम हुन्छ । आवश्यकताभन्दा बढी मल भयो भने बिरुवा मर्ने खतरा हुन्छ ।

तस्विर: स्वर्णिमा नर्सरी, ललितपुर


हाइब्रिड जातका सानो बिरुवामा युरिया, डिएपी तथा पोटास हाल्न नहुने बताउँछन्, मल्ल । फस्फोरसले बिरुवालाई फुल्न मद्दत गर्छ । नाइट्रोजनले बिरुवालाई हरियो बनाउँछ । बजारमा बिरुवा राम्रो फुलाउने किसिमका भिटामिन पनि पाइन्छन् तर त्यस्ता भिटामिनको प्रयोग गर्दा हर्टिकल्चर तथा कृषि विज्ञको सल्लाहमा मात्रै प्रयोग गर्दा राम्रो हुने बताउँछन्, विशेषज्ञ।

गर्मी सिजनका सिजनल बिरुवामा रोग लाग्ने पनि धेरै सम्भावना हुन्छ । गर्मी्सिजनका बिरुवामा फंगज, लाइ लगायतका रोग तथा कीरा लाग्छन् । यस्तो रोगको नियन्त्रण गर्न सकिन्छ । तर रोग तथा कीरा लाग्न थाल्नेबित्तिकै बिषादीको प्रयोग गर्नुपर्छ । जस्तै लाइ लागेको अवस्थामा नुभान प्रयोग गर्न सकिन्छ भने डढेलो लाग्यो भने साफ लगायतका विषादीको प्रयोग गर्न सकिन्छ।

हाइब्रिड जातका बिरुवामा स्थानीय जातको तुलनामा बढी रोग लाग्ने बताउँछन्, हर्टिकल्चर विशेषज्ञ, आचार्य । वैज्ञानिक मल्ल पनि हाइब्रिड जातका फूलमा रोग प्रतिरोधात्मक क्षमता कम हुने बताउँछन् । रोगको पहिचान गरेर विषादीको प्रयोग गर्नुपर्ने मल्लको सुझाव छ । पहिलेको भन्दा रोगको प्रकोप बढेको समेत मल्ल बताउँछन् । हावापानीका कारणले जाडो मौसमको तुलनामा गर्मी मौसमका फूल बिरुवामा बढी रोगको संक्रमण हुने बताउँछन्, मुस्कानका सुवदी पनि । गर्मी मौसममा कीरा हुर्कन उपयुक्त हुने भएकाले पनि बिरुवामा बढी रोग लाग्छ।

आचार्यका अनुसार गर्मी्सिजनमा पानीले समेत बिगार्ने भएकोले सयपत्रीलाई पानीबाट जोगाउनु राम्रो हुन्छ । सयपत्रीलाई घामले असर गर्दैन । दैनिक ४÷५ घण्टा घाम लाग्ने ठाउँमा सयपत्री राम्रै फुल्छ । राम्रोसँग स्याहार भएको खण्डमा हाइब्रिड जातको सयपत्री ३० थुँगासम्म फुल्छ । ओरेन्ज, गोल्डेन र एल्लो गरी तीन रंगको हुन्छ, सयपत्री । सयपत्रीको हाईट करिब एक फिटको हुन्छ । गमलामा ढकमक फुलाउन सकिन्छ । अधिकांश गर्मी्सिजनका हाइब्रिड जातका सिजनल फूलका बिरुवाको हाईट करिब एक फिटको हुन्छन्।

जाडो तुसारोको डर
जाडो सिजनका बिरुवा गर्मी सिजनको बिरुवाको तुलनामा प्रायः होचा हुन्छन् । जाडोका कारणले बिरुवा ढिलो बढ्छन् । जाडो मौसममा लगाइने बिरुवालाई पनि सितबाट बचाउनका लागि सिल्पोलिन प्लास्टिकको हटस बनाउन सकिने बताउँछन्, सुवेदी । जाडो सिजनका बिरुवा त्यसै पनि चिसोमा हुने भएकाले घाम लाग्ने ठाउँमा फुल्छन् । तर अत्यधिक चिसो भएको खण्डमा वा तुसारो पर्यो भने बिरुवा नबढ्ने तथा मर्न सक्ने भएकाले तुसारोबाट जोगाउनुपर्ने हर्टिकल्चर विशेषज्ञ आचार्यको सुझाव छ।

सिनेरिया, डेजीजस्ता फूल भने कम घाम लाग्ने ठाउँमा पनि फुल्छन् । तर अन्य बिरुवालाई फूल फुल्न कम्तीमा दैनिक दुई घण्टा घाम आवश्यक हुने बताउँछन्, सुवेदी । जाडो महिनामा प्रायः सिजनल बिरुवा कमजोर किसिमका तथा नरम हुने भएकाले सानो बिरुवामा मल हाल्दा डाइरेक्ट धेरै हाल्न नहुने बताउँछन्, मल्ल।

हिउँ नपर्दै फूल
हिमाली क्षेत्रमा भने सबै किसिमका हाइब्रिड जातका बिरुवा फुलाउन नसकिने बताउँछन्, मल्ल । धेरै अग्लो भागमा हाइब्रिड जातका सिजनल फूल फुल्न कठिन हुने उनको तर्क छ । हिमाली क्षेत्रमा सिजनल बिरुवा रोप्दा असोजसम्ममा फुलिसक्नुपर्ने बताउँछन्, हर्टिकल्चर विशेषज्ञ अनिल आचार्य पनि । मल्ल पनि हिमाली भेगमा बिरुवा लाउँदा हिउँ तथा तुसारोबाट बचाउनुपर्ने बताउँछन्।

विशेषगरी जाडोको समयमा हिमाली क्षेत्रमा बिरुवा बढ्न कठिन हुने भएकाले घाम लाग्ने ठाउँमा राख्नुपर्ने सल्लाह दिन्छन्, मल्ल । जाडोमा साना बिरुवालाई बचाउन सेतो प्लास्टिकले हावा छिर्ने गरी ढाक्नु पर्ने हर्टिकल्चर विशेषज्ञको भनाइ छ । तर जाडो मौसममा हिमाली भेगमा अत्यधिक चिसो हुने भएकाले हाइब्रिड जातका बिरुवा बढ्न तथा फुल्न कठिन हुन्छ, त्यसैले हिउँ तथा तुसारो पर्नुअगाडि नै फुलाउनुपर्ने हर्टिकल्चर विशेषज्ञको सुझाव छ।

पहाडमा झकिझकाउ फूल
काठमाडौं उपत्यकालगायतको पहाडी क्षेत्रमा दुवै सिजनका फूल राम्रोसँग हुर्काउन र फुलाउन सकिन्छ । काठमाडौं उपत्यकामा हिउँदका पनि अधिकांश फूल फुलाउन सकिन्छ भने गर्मी सिजनका पनि अधिकांश फूल फुलाउन सकिन्छ।

पहाडी क्षेत्रमा पानी जम्ने समस्या पनि कमै हुने भएकाले राम्रो मलजल पुुगेको खण्डमा बिरुवा राम्रो फुल्ने बताउँछन्, आचार्य पनि । काठमाडौं उपत्यकाको हावापानी सिजनल बिरुवालाई अनुकूल हुुने भए पनि फूल बिरुवामा सफा पानीको प्रयोग गर्नुपर्ने बताउँछन् , सुवेदी । घर तथा छतमा गमलामा पनि आकर्षक फूल फुलाउन सकिन्छ।

उपत्यकामा करिब १० वर्ष अघिसम्म पनि तुसारोका कारणले हाइब्रिड जातका बिरुवा फुल्न कठिन हुन्थ्यो तर केही वर्ष यता भने तुसारोले नबिगारेको बताउँछन्, नर्सरी व्यवसायी । काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा जाडोको केही महिनाबाहेक राम्रो फूल फुलाउन सकिने बताउँछन्, सुवेदी।

तराईको पानी नजम्ने ठाउँमा फूल
वर्षादको समयमा तराईका कयौं ठाउँमा पानी जम्ने भएकाले सिजनल फूल रोप्दा बिरुवा मर्ने समस्यासमेत हुन्छ । सिजनल फूलका बिरुवामा २४ घण्टाभन्दा धेरै पानी जम्यो भने बिरुवा मर्ने जोखिम अत्यन्तै धेरै हुने बताउँछन्, हर्टिकल्चर विशेषज्ञ । विशेषज्ञ अनिल आचार्य पनि तराई क्षेत्रमा वर्षादको समयमा बढी मात्रामा पानी जम्ने भएकाले जमिनमा भन्दा गमलामा फूल रोप्नुपर्ने सुझाउँछन् । जे होस् पानी नजम्ने र अग्लो ठाउँमा फूलका बिरुवा रोप्नुपर्ने सुवेदीको पनि सुझाव छ।

हिउँदको सिजनमा पनि चिसोले बिगार्न सक्ने भएकाले शीतलहर चल्लुपूर्व नै फूलका बिरुवा फूलाउनुपर्ने नर्सरी व्यवसायीको भनाइ छ । गर्मी ठाउँमा बिरुवा रोप्दा धरै मल हाल्न हुँदैन । धेरै मलले बिरुवालाई जलाउन सक्ने बताउँछन्, मल्ल।

जेठदेखि साउन महिनासम्म तराई क्षेत्रमा अत्यधिक गर्मी हुने भएकाले सिजनल फूलको बिरुवा कुहिने जोखिम हुन्छ । त्यसैले जेठदेखि साउन महिनासम्म तराईमा हाइब्रिड जातका सयपत्रीका बिरुवा नलाउँदै राम्रो हुन्छ।

आयु छोटो, फूल सुन्दर
हुर्काउन सजिलो स्थानीय जातका बिरुवा भए पनि हाइब्रिड जातका बिरुवामा नेपालीको आकर्षण बढ्दो छ । होचो बोटमा चाँडै र आकर्षक फूल फुल्ने भएकाले पनि हाइब्रिड फूलमा आकर्षण बढिरहेको हो । स्थानीय जातका बिरुवामा ध्यान नदिएका कारण पनि स्थानीय जातका बिरुवामा आकर्षण नभएको मल्लको भनाइ छ । स्थानीय जातका बिरुवा हुर्काउन सजिलो हुने भए पनि गमलामा समेत आकर्षकरुपमा आयातित हाइब्रिड जातका फूल फुलाउन सकिने भएकाले हाइब्रिड फूलमा अकर्षण बढेको मल्लको तर्क छ।

तस्विर: स्वर्णिमा नर्सरी, ललितपुर

सामान्यतया ब्याडमा बीउ हालेको ६० दिनदेखि ७५ दिनसम्ममा धेरैजसो हाइब्रिड गरेका सिजनल फूल फूल्छन् । प्रायः हाइब्रिड सयपत्री बिउ हालेको ७५ दिनमा फुल्न थाल्छ भने ९० दिनमा ढकमक्क फुल्छ । त्यसैले दसैंतिहारलाई लक्षित गरेर सयपत्री रोप्दा दिन गनेर हाल्दा राम्रो हुन्छ । हाइब्रिड जातका बिरुवाको आयु पनि छोटै हुन्छ । सामान्यतयाः हाइब्रिड जातका फूलको आयु चार महिना हुन्छ । जाडो सिजनका डेन्थस, गजिनियालगायतका सिजनल फूलको आयु भने चार महिना भन्दा लामो हुन्छ । दसैंतिहारका लागि भने हिमाल, पहाड र तराई तीनै क्षेत्रमा हाइब्रिड जातका सयपत्री राम्रो फुल्ने बताउँछन्, हर्टिकल्चर विशेषज्ञ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *